दैलेख । गाउँघरमा तिहारका लागि अति महत्वपूर्ण मानिने हजारी फूल ,सयपत्री फूल पछिल्लो समय लोप हुन थालेपछि कृत्रिम फूलको प्रयोग बढ्दै गएको छ । तिहारमा भाइटीकाको दिनमा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने हजारी,मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि जिल्लामा हजारी फूल, मखमली फूल बिस्तारै लोप हुँदै गएपछि कृत्रिम फूलको प्रयोग बढ्दै गएको हो ।
पछिल्लो समय मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा गाउँघरतिर पाइने मखमली फूल अभाव हुँदै गएको दुल्लु नगरपालिका– १३का सुंगिता शाहीले बताउनुभयो । उहाँले परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका हजारी ,मखमली फूल लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको बताउनुभयो । उहाँले पहिला पहिला सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने चलन थियो तर कृत्रिम फूलका मालाले गर्दा मखमली र सयपत्री ओझेलमा परेको बताउनुभयो । तिहारमा प्रयोग फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार







