२०८३ कात्तिक ११ , मंगलबार

आज महानवमी, शक्तिपीठहरूमा बलिपूजा



 

काठमाडौँ । बडादसैँको नवौँ दिन आज आश्विन शुक्ल नवमीका अवसरमा देशभरका देवीमन्दिर तथा शक्तिपीठहरूमा विधिपूर्वक पूजा, आराधना र बलिपूजा गरिँदैछ। महानवमीका दिन नवदुर्गामध्ये देवी सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन दसैँघर, कोटघर तथा शक्तिपीठहरूमा विशेष पूजाआजा गरी शक्ति र समृद्धिको कामना गरिन्छ।

महानवमीका अवसरमा घरघरमा नवदुर्गाको पूजा गर्नुका साथै कन्यापूजा गर्ने चलन छ। नौ कन्यालाई देवीका विभिन्न स्वरूपका रूपमा मानी पूजा गर्ने धार्मिक परम्परा रहेको छ। कन्यापूजाका क्रममा कन्याहरूलाई टीका, जमरा, दक्षिणा तथा विभिन्न परिकार प्रदान गरिन्छ।

महानवमीका दिन दुर्गति नाश र शक्ति प्राप्तिको कामनासहित शक्तिपीठहरूमा विधिपूर्वक बलिपूजा गरिन्छ। परम्पराअनुसार विभिन्न शक्तिपीठमा राँगा, बोका, भेडा, कुखुरा तथा हाँसको बलि दिने चलन छ। सात्त्विक पूजा गर्नेहरूले भने कुभिण्डो, केरा, काँक्रोलगायतका फलफूल तथा वनस्पतिजन्य सामग्री चढाएर देवीको आराधना गर्ने गरेका छन्।

शक्ति प्राप्ति तथा राज्यको कल्याणको कामनासहित महानवमीका दिन राज्यशक्ति र सर्वसाधारणले महाशक्तिको पूजा गर्ने परम्परा पनि छ। यस अवसरमा काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा विशेष पूजाआजा गरिन्छ। उक्त मन्दिर वर्षमा एक दिन महानवमीका अवसरमा सर्वसाधारणका लागि खुला गरिने परम्परा छ।

काठमाडौँ उपत्यकाका गुह्येश्वरी, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभा भगवती र दक्षिणकालीलगायत शक्तिपीठ तथा देवीमन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। तलेजु भवानी, चामुण्डा भगवती, नरदेवी, विजेश्वरी र बंगलामुखीलगायत मन्दिरमा पनि विशेष पूजाआजा गरिन्छ।

यसैगरी ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, सिद्धकाली, छिन्ताङ भगवती, सप्तरीको कंकालिनी र सखडा भगवती, दोलखाको कालिञ्चोक भगवती, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, जाल्पादेवी, मनकामना, गोरखकाली, लमजुङ कालिका, मौलाकालिका, छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, बागलुङ कालिका, त्रिपुरासुन्दरी, बागीश्वरी, शैलेश्वरी र उग्रतारालगायत देशभरका देवीमन्दिर तथा शक्तिपीठमा आद्यशक्ति भगवतीको पूजा आराधना भइरहेको छ।

महानवमीलाई दसैँको महत्त्वपूर्ण धार्मिक दिनका रूपमा लिइन्छ। यस दिन देवी दुर्गाको आराधना, पूजाआजा तथा बलिपूजा गरी सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्ने परम्परा रहेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ४ गते मंगलबार
प्रतिक्रिया