२०८३ कात्तिक ११ , मंगलबार

दैलेखमा दोस्रो चुप्रा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने



 

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा दोस्रो चुप्रा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ। डुङ्गेश्वर गाउँपालिका–१ स्थित त्रिवेणी सङ्गम माध्यमिक विद्यालयको खेलमैदानमा असोज २१ देखि ३१ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ। चुप्रा बोयज युनियन, डुङ्गेश्वर–१को आयोजकमा‘भाषा, कला, संस्कृति र साहित्यको उत्थान कृषि, शिक्षा, स्वास्थ्य र व्यापार प्रवर्द्धनको साझा अभियान’ भन्ने नारासहित आयोजना गर्न लागिएको महोत्सवमा स्थानीय कृषि उत्पादन, व्यापार, पर्यटन तथा कला–संस्कृतिको प्रवर्द्धनमा जोड दिइनेछ।

महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सवमा लोक तथा दोहोरी गीत, नृत्य, हास्यव्यङ्ग्य लगायत सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ। स्थानीय कलाकारलाई समेत आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिने संयोजक रविन्द्र डांगीले जनाएको छ। उहाँले महोत्सवमा स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारको प्रस्तुति र आइडलको खोजीसमेत गरिने बताउनुभयो।

महोत्सवको माध्यमबाट चुप्रा क्षेत्रको कृषि उत्पादन, स्थानीय व्यापार तथा पर्यटनको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ। स्थानीय उत्पादनको बजार विस्तारसँगै क्षेत्रको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई बाह्य क्षेत्रमा चिनाउन महोत्सव उपयोगी हुने आयोजकको अपेक्षा छ।
महोत्सवमा विभिन्न स्थानीय उत्पादन तथा व्यापारिक सामग्रीका स्टल राखिनेछन्। कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापारसँग सम्बन्धित गतिविधिसमेत समेटिने आयोजकले जनाएको छ।
चुप्रा बजार क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। आयोजकका अनुसार महोत्सवमा स्थानीय तथा बाह्य क्षेत्रबाट आउने दर्शकलाई लक्षित गरी मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।डुङ्गेश्वर गाउँपालिका कार्यालय र वडा नं १ को कार्यालयले महोत्सवमा सहयोग गरेका छन्।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार
प्रतिक्रिया