२०८३ कात्तिक ११ , मंगलबार

दसैँ मनाएर फर्किने यात्रुको चाप बढ्दै



 

यामराज बिष्ट
दैलेख । दसैँ मनाउन केही दिनअघि गाउँघर आएका सर्वसाधारण चाडपर्व सकिएसँगै धमाधम आफ्नो कर्मथलो फर्किन थालेका छन् । दसैँ मनाउन घर आएका कर्मचारी, विद्यार्थी, मजदुर, व्यवसायीलगायत विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति देशका विभिन्न ठाउँ, कार्यक्षेत्रमा फर्किन थालेपछि दैलेखका बसपार्कमा यात्रुको चहलपहल बढेको छ ।

चाडपर्व मनाएर आफ्नो नियमित कामकाजमा फर्किन थालेपछि कर्णाली प्रदेशका अन्य जिल्लासहित काठमाडौँतर्फ जाने यात्रुको आवागमन बढ्न थालेको छ । दसैँको बिदा सकिएसँगै रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसायका लागि जिल्लाबाहिर जाने यात्रुको चाप बढ्दै गएको छ । गाउँघरमा दसैँ मनाउन आएका नागरिक आफ्नो बिदा सकिएपछि निर्धारित समयमा कार्यस्थल पुग्नुपर्ने भएकाले यात्रामा निस्कने क्रम बढेको हो ।

जिल्लाभरि यात्रुको आवागमन सहज बनाउन तथा सवारीसाधनको चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जयसिंह गुरुले बताउनुभयो । उहाँले जिल्लाबाट बाहिरिने यात्रुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सडकमा निगरानी बढाइएको जानकारी दिनुभयो । उहाँले सदरमुकामबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप समेत बढ्न थालेको बताउनुभयो ।

उहाँले यात्रुको सहज आवागमन सुनिश्चित गर्नु बढ्दो सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्लाभरि निगरानी बढाएको जानकारी दिनुभयो । चाडपर्वपछि एकै समयमा धेरै यात्रु गन्तव्यतर्फ फर्किने भएकाले सडकमा सवारीसाधनको आवागमन बढ्ने हुँदा ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन लागिपरेको उहाँको भनाइ छ । अहिले दैलेखबाट कर्णाली प्रदेशका विभिन्न जिल्लालगायत देशका विभिन्न ठाउँमा जाने सवारीसाधनको आवतजावत बढेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यात्रुको चाप बढेसँगै सडकमा सवारीसाधनको आवागमन व्यवस्थित बनाउन र यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

जाजरकोटलगायत गाउँघरमा दसैँ मनाउन आएका नागरिक आफ्नो बिदा सकिएपछि चहलपल बढेसँगै सवारीसाधनमा यात्रुको चापसमेत बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । तल्लो डुङ्गेश्वर हुँदै कालीकोट, बाजुरा, हुम्ला, मुगु र जुम्लालगायत जिल्लातर्फ दसैँ मनाएर फर्किने यात्रुको सङ्ख्या बढेसँगै दैलेखका सडकमा आवागमन थप व्यस्त बनेको छ । ट्राफिक प्रहरी कार्यालय दैलेखका अनुसार दसैँ अवधिरभर जिल्लामा तीन हजार २०३ वटा सवारीसाधन भित्रिएका छन् भने दुई हजार ९०५ वटा सवारीसाधन बाहिरिएका छन् । त्यसै गरी देशभरका विभिन्न ठाउँबाट आएका जिल्ला हुँदै बाहिरिएका यात्रुको सङ्ख्या ३९ हजार ४९ जना रहेको जनाइएको छ । दसैँ मनाएर कर्मथलो फर्किने व्रmममा दैलेख सदरमुकामबाट मात्रै २७ हजार ६४९ यात्रु बाहिरिएको ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ । दसैँ बिदा सकिएसँगै यात्रुको आवागमन बढेकाले सवारीसाधनको चापसमेत बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते आइतबार
प्रतिक्रिया