
दैलेख, असोज १४ गते । नारायण नगरपालिका–११ जुफियाँस्थित बडाभैरव आधारभूत विद्यालयले आर्थिक वर्ष २०८२र८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। विद्यालयले आर्थिक वर्ष २०८२र८३ मा कुल रु ३४ लाख ६ हजार ९ सय१९ रुपैयाँ ५० पैसा बराबरको आय गरेको विवरण सार्वजनिक गरेको छ। विद्यालयले ३३ लाख२ ३हजार ८ सय ७ रुपैयाँ व्यय गरेको विवरण सार्वजनिक गरेको छ ।
विद्यालयले सामाजिक लेखापरीक्षणमार्फत आर्थिक वर्षभरि विभिन्न शीर्षकमा प्राप्त भएको आम्दानी तथा विद्यालय सञ्चालनका क्रममा भएको खर्चको विवरण सार्वजनिक गरेको हो। विद्यालयका अनुसार शिक्षक तथा कर्मचारीको तलबभत्ता, पाठ्यपुस्तक, छात्रवृत्ति, विद्यालय सञ्चालन, मसलन्द, सामाजिक लेखापरीक्षण, इन्टरनेट जडान, खानेपानीलगायत विभिन्न शीर्षकमा रकम प्राप्त भएको थियो। प्राप्त रकम शिक्षक तथा कर्मचारीको तलबभत्ता, विद्यालय सञ्चालन, पाठ्यपुस्तक खरिद, छात्रवृत्ति वितरण, दिवा खाजा, मसलन्द, इन्टरनेट जडान, लेखापरीक्षण तथा सामाजिक लेखापरीक्षणलगायतका शीर्षकमा खर्च गरिएको विद्यालयले जनाएको छ।
सामाजिक लेखापरीक्षण विवरणमा विद्यालयले विद्यार्थी केन्द्रित कार्यक्रमलाई समेत प्राथमिकता दिएको देखिन्छ। पाठ्यपुस्तक खरिद, छात्रवृत्ति वितरण तथा दिवा खाजामा रकम खर्च गरिएको विद्यालयले जनाएको छ।
विद्यालयको आर्थिक गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउन हरेक वर्ष आय–व्यय सार्वजनिक गर्दै आएको विद्यालयकी प्रधानाध्यापक मनसरा थापाले बताउनुभयो।“विद्यालयमा प्राप्त हुने रकमलाई आवश्यकताका आधारमा विद्यार्थीको शैक्षिक सुधार, विद्यालय सञ्चालन तथा भौतिक व्यवस्थापनमा खर्च गर्दै आएका छौँ। आय–व्यय सार्वजनिक गर्दा अभिभावक तथा सरोकारवालाले विद्यालयको आर्थिक अवस्थाबारे जानकारी पाउने र विद्यालयप्रति विश्वास बढ्ने अपेक्षा गरेका छौँ,” प्रधानाध्यापक थापाले भन्नुभयो।

सामाजिक लेखापरीक्षणमा मनधरी मल्लले सामाजिक परीक्षणले विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको सिकाइ उपलब्धि र विद्यालयका गतिविधिको मूल्याङ्कन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक र अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
शिक्षक–अभिभावक संघका अध्यक्ष खड्कबहादुर बडुवालले विद्यार्थीको शैक्षिक प्रगति र आत्ममूल्याङ्कनका लागि सबैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विद्यार्थीलाई थप मेहनतका साथ अध्ययन गरी शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न प्रेरित गर्दै शिक्षकहरूको मेहनतको प्रशंसा गर्नुभयो।
यस्तै नारायण नगरपालिका–११ का वडासदस्य दीपक शाहीले विद्यालयले सामाजिक लेखापरीक्षणमार्फत आय–व्यय सार्वजनिक गर्नु पारदर्शिता र जवाफदेहिताका लागि महत्वपूर्ण भएको बताउनुभयो।“विद्यालयको समग्र विकासका लागि विद्यालय, अभिभावक, शिक्षक, समुदाय र वडा कार्यालयबीच सहकार्य आवश्यक छ। विद्यालयले आफ्नो आर्थिक विवरण सार्वजनिक गर्नु सकारात्मक अभ्यास हो। आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारका लागि आवश्यक समन्वय र सहयोग गरिनेछ,” वडासदस्य शाहीले भन्नुभयो।

विद्यालयले आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको रकम तथा चालु आर्थिक वर्षमा भएको बचतसमेत विवरणमा समावेश गरेको जनाएको छ। विद्यालयले व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा सामाजिक लेखापरीक्षणमार्फत आय–व्यय विवरण सार्वजनिक गरिएको हो।
यसैगरी विद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, भौतिक पूर्वाधार विकास तथा विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विद्यालय सुधार योजना तयार गरेको जनाएको छ। विद्यालयले उपलब्ध स्रोतसाधनको पारदर्शी तथा प्रभावकारी परिचालन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।








