२०८३ कात्तिक ११ , मंगलबार

दसैँका लागि खसीबोका र च्याङ्ग्रा किनबेच सुरु



यामराज बिष्ट
दैलेख, असोज२० गते । पछिल्लो समयमा दसैँ नजिकिएसँगै दैलेखका विभिन्न बजार तथा ग्रामीण क्षेत्रमा खसीबोका र च्याङ्ग्राको किनबेच सुरु भएको छ। चाडपर्वका लागि आवश्यक खर्च जुटाउनका लागि खसी, बोका र च्याङ्ग्रा ल्याउने क्रम सुरु भएको छ ।
दैलेख सदरमुकाममा बजुरा कालिकोट, दैलेख जिल्लाका भवानी, दुल्लु, नारायण नगरपालिकाका विभिन्न स्थान तथा बेस्तडा बजारमा दसैँ लक्षित गरी खसीबोकाको कारोबार बढ्न थालेको छ। जिल्लाबाट दसैँका लागि खसीबोका,च्याङ्ग्रा, खरिद गर्न व्यापारीसमेत गाउँगाउँ पुग्न थालेका छन्। जिल्लामा ग्राहकको माग बढेसँगै किसानले घरमै पालेका खसीबोका बिक्रीका लागि विभिन्न क्षेत्रबाट दैलेख सदरमुकाममा ल्याउने गरेका छन्।
दसैँ नजिकिएसँगै खसीबोका बिक्रीका लागि बजार ल्याउन थालेको भगवती गाँउपालिका १का स्थानिय सेते बिष्ट बताउनुभयो।उहाँले हरेक वर्षझैँ यस वर्ष पनि खसीबोका बिक्रीबाट दसैँको खर्च जुटाउने योजना रहेको उहाँले बताउनुभयो। उहाँले दसैँमा खसीबोका बिक्री गरेर घरायसी आवश्यकताका सामग्री खरिद गर्ने र चाडपर्वको खर्च जुटाउने किसानको मुख्य उद्देश्य रहेको बताउनुभयो। जिल्लामा गाँउबाट खरिद गरेर खसीबोका आकार र तौलअनुसार प्रतिगोटा रु २०हजारदेखि रु ४० हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो।
“खसीबोका बेचेर नुन, तेल, कपडा, मरमसला लगायत दसैँका लागि आवश्यक सामग्री किन्ने गरेका छौँ,” उहाँले भन्नुभयो। उहाँले नियमित रूपमा खसीबोका बिक्री गर्दै आएको र मासिक रु पाँच लाखभन्दा बढीको कारोबार हुने गरेको बताउनुभयो। सदरमुकाममा ल्याइएको च्याङ्ग्रा मूल्य प्रतिकेजी हालसम्मका लागि ८ सय रुपैयाँ निर्धारण गरिएको बताउनुभयो ।दसैँको समयमा खसीबोकाको माग र कारोबार अझ बढ्ने उहाँको भनाइ छ।
यस्तै, दैलेख सदरमुकाममा पाँच वर्षदेखि मासु व्यवसाय सञ्चालन गर्दै आउनुभएका ५६ वर्षीय दुर्गबहादुर महताराले दसैँ नजिकिएसँगै खसीबोकाको खरिद तथा मासु बिक्री बढ्न थालेको बताउनुभयो। उहाँले खसीबोकाको आकार र तौलअनुसार प्रतिगोटा १३ हजारदेखि ३० हजार रुपियाँसम्ममा खरिद गर्ने गरिएको बताउनुभयो ।महताराले आफ्नो व्यवसायबाट मासिक करिब १४ लाख रुपियाँ बराबरको मासु बिक्री हुने गरेको बताउनुभयो। दसैँमा मासुको माग बढ्ने भएकाले आगामी दिनमा कारोबार थप वृद्धि हुने अपेक्षा रहेको उहाँको भनाइ छ।
दसैँका लागि खसीबोका खरिद गर्ने ग्राहकको चहलपहल बढ्दै गएपछि आगामी दिनमा कारोबार थप बढ्ने व्यवसायी तथा किसानको भनाई छ। दसैँका लागि खसीबोका खरिद गर्ने ग्राहकको चहलपहल बढ्दै गएपछि आगामी दिनमा कारोबार थप बढ्ने व्यवसायी व्यापारीहरु बताउँछन् ।खसी, बोका दशैमा च्याङ्ग्राको माग पनि राम्रो रहेको व्यापारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार
प्रतिक्रिया