
यामराज बिष्ट
दैलेख । दैलेख जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र दुल्लू नगरपालिका–१० स्थित रहेको नाभिस्थानमा पक्की मोटरेबल पुल निर्माण भई उद्घाटन गरिएको छ। पुल सञ्चालनमा आएसँगै नाभिस्थानमा भ्रमण तथा तीर्थाटनका लागि आउने भक्तजन र पर्यटकका लाागीे वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको हो ।
दुल्लू नगरपालिका र भैरवी गाउँपालिकालाई जोड्ने उक्त पुलले स्थानीयवासीको आवतजावत सहज हुने भएको छ। धार्मिक पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय पूर्वाधार विकास आयोजना, सुर्खेतको सहयोगमा करिब चार करोड रुपियाँ लागतमा पुल निर्माण गरिएको दुल्लू नगरपालिका–१० का वडाध्यक्ष दीपेन्द्र पुरीले जानकारी दिनुभयो । उहाँले पुल निर्माणले पञ्चकोशी क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुल सञ्चालनमा आएपछि भैरवी गाँउपालिका, नारायण नगरपालिका, दुल्लू नगरपालिका, चामुण्डाबिन्द्रासैनि नगरपालिका र रारा क्षेत्रसम्म जाने पर्यटकलाई आवागमनमा सहजता हुने बताउनुभयो।
यस्तै नाभिस्थानमा पुल निर्माण भएपछि वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको दुल्लू नगरपालिकाका नगरप्रमुख भरत रिजालले बताउनुभयो। उहाँले मध्यपहाडी रार्जमाग नजिक भइकोले पुल निर्माणले स्थानीय नागरिकको आवतजावतमा हुने कठिनाइ कम गर्नुका साथै धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।उहाँले यी क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय सरकारले लगानी बढाउँदै आएको बताउनुभयो।उहाँले नगरपालिकाले यस क्षेत्रमा थप ब्यवस्थीत गर्न सहयोग गर्ने बताउनुभयो ।
स्थानीय संकर योगीले नाभिस्थान पञ्चकोशीधामका प्रमुख धार्मिक स्थलमध्ये एक भएको बताउनुभयो । उहाँले यहाँ रहेका दुईवटा ज्वाला निरन्तर बलिरहने भएकाले यो क्षेत्र धार्मिक आस्थाका दृष्टिले विशेष महत्व भएको बताउनुभयो । उहाँले पुल निर्माणसँगै दैलेखका प्रसिद्ध तीर्थस्थल पञ्चकोशीधाम अन्तर्गतका श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर र कोटिलामा दर्शन गर्न आउने भक्तजनलाई सहज हुने बताउनुभयो। उहाँले पुल निर्माणसँगै नाभिस्थान क्षेत्रमा धार्मिक पर्यटकको आगमन बढ्ने, स्थानीय व्यवसाय विस्तार हुने र समग्र क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले यहाँ सम्म आउने सडक निर्माण हुने सके तीर्थाटनका लागि आउने भक्तजन र पर्यटकका सहयोक्ष् पुग्ने बताउनुभयो ।
नाभिस्थानस्थित ज्वाला मन्दिर प्राकृतिक ग्यासबाट निरन्तर ज्वाला बलिरहने धार्मिक स्थलका रूपमा परिचित छ। यस क्षेत्रमा ज्वालाले धार्मिक आस्था, सांस्कृतिक परम्परा र वैज्ञानिक जिज्ञासासमेत आकर्षित गर्दै आएको छ। नवरात्र, जनैपूर्णिमा र शिवरात्रिलगायतका चाडपर्वमा यहाँ भक्तजनको भीड लाग्ने गर्दछ।








