२०८३ कात्तिक ११ , मंगलबार

दसैँमा दैलेखको सुरक्षा नेतृत्वविहीन



दैलेख । दसैँका बेला शान्ति सुरक्षाको चुनौती बढ्ने भए पनि दैलेखमा प्रशासन र प्रहरीका प्रमुख अधिकारी अनुपस्थित हुँदा जिल्लाको सुरक्षा व्यवस्थापनबारे चासो बढेको छ। प्रमुख जिल्ला अधिकारी सरुवा भएर गएपछि नयाँ अधिकारी नियुक्त भएका छैनन् भने जिल्ला प्रहरी प्रमुख पनि बिदामा बसेपछि दुवै निकाय निमित्तको नेतृत्वमा सञ्चालन भइरहेका छन्।

प्रमुख जिल्ला अधिकारी आनन्द सारु सरुवा भएर गएपछि गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छैन। हाल उपसचिव महेन्द्रजंग शाहीले निमित्त प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हालिरहनुभएको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विक बिदामा बसेपछि प्रहरी निरीक्षक पुष्प रोकायले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।

दसैँका बेला नागरिकको आवतजावत बढ्ने, बजार तथा सार्वजनिक स्थलमा भीडभाड हुने, मदिरा सेवनका कारण झैझगडा हुने तथा चोरीलगायत आपराधिक गतिविधिको जोखिम बढ्ने गर्छ। यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न प्रशासनिक निर्णयमा शीघ्रता, सुरक्षा निकायबीच प्रभावकारी समन्वय र आकस्मिक घटनाको तत्काल व्यवस्थापन आवश्यक हुन्छ।

तर, चाडपर्वको संवेदनशील समयमा जिल्लाका प्रमुख प्रशासनिक तथा प्रहरी अधिकारी अनुपस्थित भएपछि सुरक्षा व्यवस्थापनको तयारी र नेतृत्वबारे प्रश्न उठेको छ। निमित्त अधिकारीले जिम्मेवारी सम्हालिरहेका भए पनि जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ।

नागरिक अगुवा विशाल सुनारले वर्षमा एकपटक आउने दसैँजस्तो प्रमुख चाडका बेला शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका निकायका प्रमुख नै जिल्लामा नहुनु दुःखद भएको बताउनुभयो। उहाँले चाडपर्वका बेला नागरिकले सुरक्षित वातावरण र राज्यको प्रभावकारी उपस्थितिको अपेक्षा गर्ने उल्लेख गर्नुभयो।

संवेदनशील समयमा प्रमुख अधिकारीको अनुपस्थितिले नागरिकमा असुरक्षाको भावना बढ्न सक्ने उहाँको भनाइ छ। चाडपर्वका बेला शान्ति सुरक्षा कायम राख्न सम्बन्धित निकायले समयमै आवश्यक व्यवस्था मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

दसैँका बेला सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति परिचालन, सुरक्षा गस्तीमा वृद्धि तथा प्रशासन र प्रहरीबीचको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ। आकस्मिक घटना भएमा तत्काल निर्णय लिन सक्ने व्यवस्था मिलाउनु पनि उत्तिकै आवश्यक छ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार
प्रतिक्रिया