२०८३ कात्तिक ११ , मंगलबार

कैदीबन्दीसँग चाडपर्वको शुभकामना आदानप्रदान



सुर्खेत । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए), जिल्ला कार्यसमिति सुर्खेतले विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को अवसरमा कैदीबन्दीसँग शुभकामना आदानप्रदान गरेको छ।
डिएलए सुर्खेतको आयोजनामा कारागार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कैदीबन्दीसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
डिएलए सुर्खेतका अध्यक्ष अधिवक्ता प्रकाशबाबु ऐडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले विजयादशमी, दीपावली तथा छठ पर्वले सत्य, न्याय र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको सन्देश दिने यी पर्वले सबैलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्ने बताउनुभयो।

उहाँले कैदीबन्दीहरूको जीवनमा पनि सुख, शान्ति र सकारात्मक परिवर्तन आओस् भन्ने कामना गर्दै वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, भाइचारा र मानवीय सम्बन्धलाई थप सुदृढ बनाउने धारणा राख्नुभयो।

सो अवसरमा डिएलए सुर्खेतका तर्फबाट कैदीबन्दीका लागि एउटा खसी, दुई बोरा चामल र एक कार्टुन तेलसमेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय भुषणकुमार मानन्धर र प्रेमध्वज शाही, नेपाल बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता विवसकुमार बस्नेत, उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष अधिवक्ता हिमालयजंग शाही, सुर्खेत जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता मोतिराम शर्मा, नेपाल बार एसोसिएसनका निवर्तमान उपाध्यक्ष अधिवक्ता उत्तमप्रसाद आचार्य, कारागार कार्यालय सुर्खेतका प्रमुख प्रशासक लक्ष्मी खरेल, सहायक प्रशासक भुवन गौतमलगायत कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८३ कात्तिक १ गते शनिबार
प्रतिक्रिया