२०८३ कात्तिक ११ , मंगलबार

विश्वचर्चित क्रिकेटर डेविड मिलर कर्णाली याक्समा अनुबन्ध



 

काठमाडौँ । दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० खेल्न कर्णाली याक्समा अनुबन्ध हुनुभएको छ । कर्णाली याक्सले शुक्रबार मिलरलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाका बायाँहाते मध्यक्रमका ब्याटर मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी हुनुहुन्छ । यसअघि क्लबले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र चर्चित अलराउन्डर हुसेन तलातलाई अनुबन्ध गरेको घोषणा गरिसकेको छ ।

दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्नुभएका स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि यसपटक कर्णाली याक्सबाटै खेल्नुहुनेछ । वाटबाहेक मिलर, फरहान, तलात, अरिफुल र अकबर पहिलोपटक एनपिएल खेल्न लाग्नुभएको हो ।

कर्णाली याक्स स्पोर्ट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहनाअनुसार विश्वचर्चित खेलाडीलाई टोलीमा अनुबन्ध गर्न सफल भएको बताउनुभयो ।

उहाँले मिलरको आगमनसँगै कर्णाली याक्स उपाधिको बलियो दाबेदार बनेको उल्लेख गर्दै यसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रचार तथा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौँ, जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो । यसपटक डेविड मिलर, साहिबजादा फरहान र हुसेन तलातलाई अनुबन्ध गरेका छौँ । यसले कर्णाली याक्सलाई मात्रै नभएर एनपिएलदेखि नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छु,” उहाँले भन्नुभयो, “अब हाम्रो लक्ष्य उपाधिमा केन्द्रित हुनेछ ।”

मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाउनुभएको छ । यस क्रममा उहाँले दुई शतक र नौ अर्धशतक प्रहार गर्नुभएको छ । उहाँले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरका दुवै शतक भारत र बंगलादेशविरुद्ध बनाउनुभएको हो ।

समग्र टी–२० क्रिकेटमा मिलरले ५८४ खेल खेल्दै १२ हजार ४३५ रन बनाउनुभएको छ । यस क्रममा उहाँले चार शतक र ५३ अर्धशतक प्रहार गर्नुभएको छ । सन् २०१७ मा बंगलादेशविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा उहाँले मात्र ३५ बलमा शतक पूरा गर्दै कीर्तिमान बनाउनुभएको थियो ।

कात्तिक ९ गतेदेखि सुरु हुने एनपिएलमा कर्णाली याक्सको मार्की खेलाडीमा सोमपाल कामी हुनुहुन्छ । राष्ट्रिय टोलीबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीकै टोलीमा रहनुभएको छ ।

त्यस्तै, कर्णाली याक्सले कर्णाली प्रदेशका विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई पनि टोलीमा अनुबन्ध गरेको छ ।

मिलरसहित अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गरेका खेलाडीको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष बलियो हुने अपेक्षा गरिएको छ । टोलीले यसपटक उपाधि जित्ने लक्ष्यसहित एनपिएलको तयारी अघि बढाएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक ८ गते शनिबार
प्रतिक्रिया