
दैलेख । कर्णाली प्रदेशको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका रूपमा परिचित दैलेखका देवलहरू विश्व सम्पदा सूचीमा सूचीकृत हुने अपेक्षासहित संरक्षणको नयाँ चरणमा प्रवेश गरेका छन्। झण्डै १८ वर्षअघि सुरु भएको पहल लामो समयसम्म ओझेलमा परेपछि अहिले पुरातत्व विभागले पुनः सक्रियता देखाउन थालेको छ।
सन् २००८ मा दैलेखको पञ्चदेवल क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष सिफारिस गरिए पनि आवश्यक प्रक्रिया र सरकारी प्राथमिकताको अभावमा अभियानले गति लिन सकेको थिएन। पछिल्लो समय पुरातत्व विभागले स्थलगत अध्ययन तथा सरोकारवालासँग समन्वय सुरु गरेपछि स्थानीय तह र नागरिकमा नयाँ आशा जागेको छ।
‘देवलहरूको जिल्ला’ भनेर चिनिने दैलेखमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सयौँ देवलहरू रहेका छन्। जिल्लाका विभिन्न स्थानमा फैलिएका यी देवलहरू ११औँदेखि १४औँ शताब्दीको खसकालीन वास्तुकलाका महत्वपूर्ण नमुना मानिन्छन्। ढुङ्गामाथि ढुङ्गा राखेर कुनै मसला प्रयोग नगरी निर्माण गरिएका यी संरचनाले तत्कालीन सभ्यता, कला र शिल्पकौशललाई प्रतिनिधित्व गर्छन्।
नारायण नगरपालिका–६ भूर्तिमा रहेको पञ्चदेवल क्षेत्र जिल्लाको सबैभन्दा महत्वपूर्ण सम्पदा क्षेत्रमध्ये एक हो। विगतमा २५ वटा देवल रहेको उक्त क्षेत्रमा हाल २२ वटा मात्रै सुरक्षित अवस्थामा रहेका छन् भने तीन वटा देवल पूर्णरूपमा भग्नावशेषमा परिणत भइसकेका छन्। संरक्षणको अभाव, प्राकृतिक क्षय र आवश्यक मर्मत सम्भार नहुँदा अधिकांश संरचना जोखिममा परेका छन्।
स्थानीयवासीका अनुसार पञ्चदेवल क्षेत्र हेर्न दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्। तर पर्यटकीय सम्भावना उच्च भए पनि आवश्यक पूर्वाधार, संरक्षण र व्यवस्थापनको अभाव अझै चुनौतीका रूपमा रहेको छ। देवल वरपरका घेराबार भत्किएका छन् भने ऐतिहासिक महत्वका ढुङ्गा तथा अवशेषहरू संरक्षणविहीन अवस्थामा रहेका छन्।
यसैबीच, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोलीले हालै पञ्चदेवल क्षेत्रको स्थलगत अवलोकन गरेको छ। टोलीले स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग छलफल गर्दै सम्पदाको संरक्षण, व्यवस्थापन र विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाबारे सुझाव संकलन गरेको थियो।
महानिर्देशक प्रधानाङ्गले भूर्तिका देवलहरू नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदामध्ये अग्रस्थानमा रहेको उल्लेख गर्दै यस क्षेत्रलाई ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन्। उनका अनुसार विस्तृत अध्ययन, नक्साङ्कन तथा संरक्षणका कार्यक्रम तीनै तहका सरकारको समन्वयमा सञ्चालन गरिनेछ।
नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले सम्पदा संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै पञ्चदेवल क्षेत्रको संरक्षणका लागि नगरपालिकाले आफ्नै स्रोतबाट आवश्यक काम सुरु गरिसकेको जानकारी दिनुभयो।उहाँले सम्पदा संरक्षणसम्बन्धी कानुनी तथा नीतिगत जटिलताले स्थानीय तहलाई अपेक्षित रूपमा काम गर्न कठिन भएको उल्लेख गर्नुभयो।
दैलेख जिल्लामा ११५ भन्दा बढी ऐतिहासिक देवल समूह तथा एक हजारभन्दा बढी मूर्त र अमूर्त सांस्कृतिक सम्पदा रहेका छन्। यस्ता धरोहरहरूको संरक्षण, अनुसन्धान र प्रचारप्रसारमा राज्यले पर्याप्त ध्यान दिन नसक्दा महत्वपूर्ण सम्पदाहरू संकटमा पर्दै गएका छन्।
इतिहासकारहरूका अनुसार दैलेख प्राचीन खस सभ्यता, सिंजा संस्कृति तथा बाइसे–चौबिसे राज्यकालीन इतिहाससँग जोडिएको महत्वपूर्ण भूभाग हो। जिल्लामा रहेका देवलहरूले त्यस युगको सांस्कृतिक, धार्मिक र स्थापत्य कलाको सजीव प्रमाण प्रस्तुत गर्छन्।
दैलेखका पञ्चदेवल तथा अन्य ऐतिहासिक देवलहरूलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकिएमा यसले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका साथै कर्णालीको ऐतिहासिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। संरक्षण र प्रवर्द्धनका प्रभावकारी प्रयास भएमा दैलेखका यी धरोहरहरू विश्व समुदायमाझ नेपालको गौरवका प्रतीकका रूपमा चिनिने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।








