
सल्यान । बाटोमा भेटिएको बहुमूल्य सुनका गहना आफूसँग नराखी वास्तविक धनीको खोजी गरी फिर्ता गरेर सल्यानको दार्मा गाउँपालिका–६ गोठीबन बयालडाँडीका एक परिवारले इमानदारीको उदाहरण प्रस्तुत गरेको छ ।
दार्मा गाउँपालिका–५ की रोशनी बस्नेत खड्काले यात्राका क्रममा हराउनुभएका सुनका गहना देबबहादुर विकको परिवारले फेला पारेपछि खोजी गरी उहाँलाई फिर्ता गरेको हो ।
भदौ २४ गते रुकुम पश्चिमबाट दार्मातर्फ आउँदै गर्दा देबबहादुर विक, उहाँकी श्रीमती रामकली विक, छोरी किस्वरी विक र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका घर भई माइती आएकी मायाबी विकले बाटोमा सुनका गहना फेला पार्नुभएको थियो ।
बहुमूल्य गहना भेटिएपछि विक परिवारले त्यसको वास्तविक धनी पत्ता लगाउने प्रयास गरेको थियो । खोजीका क्रममा गहना रोशनी बस्नेत खड्काको भएको खुलेपछि उहाँलाई सुरक्षित रूपमा फिर्ता गरिएको हो ।
“बाटोमा बहुमूल्य गहना भेटिएपछि अरूको सामान आफूसँग राख्नु हुँदैन भन्ने लाग्यो । जसको सामान हो, उसैलाई बुझाउनुपर्छ भनेर सम्बन्धित व्यक्तिको खोजी गरी फिर्ता गरेका हौँ,” देबबहादुर विकले भन्नुभयो ।
गहना फिर्ता पाएपछि खड्काले विक परिवारप्रति आभार व्यक्त गर्नुभयो । गहना हराएपछि आफू निकै चिन्तित भएको बताउँदै उहाँले भेटिने आशा कम भए पनि इमानदार परिवारका कारण आफ्नो सामान पुनः प्राप्त भएको बताउनुभयो ।
बहुमूल्य वस्तु भेटिएपछि लोभ नगरी सम्बन्धित व्यक्तिको खोजी गरेर फिर्ता गर्ने विक परिवारको व्यवहारलाई स्थानीयले इमानदारी र मानवीयताको उदाहरणका रूपमा लिएका छन् । पछिल्लो समय समाजमा बढ्दै गएको स्वार्थ र अविश्वासबीच विक परिवारको व्यवहारले अरूको सम्पत्तिप्रति इमानदार हुनुपर्ने सकारात्मक सन्देश दिएको स्थानीयको भनाइ छ ।








