
यामराज बिष्ट
दैलेख । दैलेखको महाबु गाउँपालिका, नौमुले गाउँपालिका र कालीकोटको महाबै गाउँपालिकाको सिमानामा पर्ने महाबु धाम पछिल्लो समय धार्मिक आस्था र प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। वरिपरि हरियाली देखिने महाबु धाम भगवान् शिवसँग सम्बन्धित धार्मिक आस्था, प्राकृतिक सौन्दर्य रुपमा परिचित पर्यटकीयस्थल हो।
खुल्ला आकाशमा अवस्थित रहेको महाबु धाममा धार्मिक विश्वाससँगै मुख्य पर्यटकीय मनोरम प्राकृतिक दृश्यले पनि आन्तरिक पर्यटक तथा श्रद्धालुलाई मनै लोभाउने गर्छ । प्रत्येक वर्ष जनैपुर्णीमाको अघिल्लो दिन देखि तिन दिनसम्म भव्य धार्मीक मेलामा हरेक वर्ष हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन् ।महाबु धामलाई स्थानीयवासीले आस्था र विश्वासको महत्वपूर्ण धार्मिक धरोहरका रूपमा लिने गरेका छन्। बेलाबेलामा रंग फेर्ने भएकाले नै धेरै पर्यटकलाई आकर्षित गरिरहेको महावुधाम पुग्ने भक्तजनले पूजा–आराधना गरेपछि आफूले मागेको बर प्राप्त गर्ने र मानसिक शान्ति प्राप्त हुने विश्वास गर्छन्।
धार्मिक मान्यताअनुसार करिब एक हजार वर्षअघि दैलेखको भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएको किंवदन्ती छ। त्यसपछि उनले उक्त ढुङ्गामा दैनिक दूध चढाउन थालेका र एक दिन ढुङ्गा फुटेर शिवलिङ्ग उत्पत्ति भएको जनविश्वास रहँदै आएको छ।महाबु धाममा धार्मिक पर्यटकको मात्र भीड लाग्ने गरेको छैन। यहाँबाट देखिने हिमशृङ्खला, हरियाली पहाड, बादलसँगै छिनछिनमा परिवर्तन भइरहने मौसम र प्राकृतिक दृश्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ।
महाुब धामलाईृ पर्यटकीय हिसाबले थुप्रै सम्भावना बोकेको महाबुलाई पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउन पालिका निरन्तर लागि परेको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो । उहाँले पालिकाले महाबु धाम पुग्नका लागी सडक सुधार गर्न आवतजाउत गर्न काम गर्न लागी परेको बताउनुभयो ।उहाँले महाबु धाममा सुर्खेत, दैलेख, जाजरकोट, काठमाडौँ, कालीकोट, जुम्ला र हुम्लालगायतका जिल्लाबाट बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गरेका बताउनुभयो। उहाँले महाुब धाममा शिवको मूर्ति निर्माण गर्न पहल गरेको बताउनुभयो ।
“महाबु धामको धार्मिक इतिहास धेरै लामो छ। यहाँ पुगेर शिवजीको दर्शन गरेपछि मनोकामना पूरा हुने जनविश्वास छ,” अध्यक्ष शाहीले भन्नुभयो, “छिनभरमै मौसम परिवर्तन भइरहने भएकाले यहाँ पुग्ने जोकोहीले प्राकृतिक सौन्दर्यसँगै छुट्टै आनन्दको अनुभूति गर्न सक्छन्।”
समुद्री सतहदेखि करिब चार हजार दुई सय मिटर उचाइमा रहेको महाबु धामसम्म पुग्ने बाटो कतिपय ठाउँमा ठाडो उकालो रहेकाले यात्रामा केही कठिनाइ भए पनि गन्तव्यमा पुगेपछि देखिने प्राकृतिक सौन्दर्य र धार्मिक वातावरणले यात्राको थकान बिर्साउने गरेको श्रद्धालुहरू बताउँछन्।
महाबु धाम रमणीय मात्र नभएर धार्मिक रुपमा पनि उत्तिकै महत्वपूर्ण मानिएको यस स्थानमा ढुंगाबाट उत्पत्ति भएको शिवलिङ्ग छ । समुद्र सतहबाट करिब चार हजार दुई सय १६ मिटर उचाइमा अवस्थित महाबु धाममा पुगेर प्रथना गरे आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
धार्मिक आस्था, ऐतिहासिक किंवदन्ती र अनुपम प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको महाबु धामको व्यवस्थित विकास गर्न सके कर्णालीको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीयको भनाई छ । महाबु धाम पुग्ने मुख्य चुनौती सडक रहेकाले सडक विस्तार र स्तरोन्नति गर्न सके धार्मिक पर्यटन प्रवद्र्धनमा थप सहयोग बिश्वास गरिएको छ । सडकको पहुँच सहज भएमा महाबु धाममा आउने भक्तजन तथा पर्यटकको सङ्ख्या बढ्ने र स्थानीय आर्थिक गतिविधिसमेत बढ्ने अपेक्षा गरिएको छ।








