२०८३ भदौ २६ , शुक्रबार

हत्याका दोषीलाई पक्राउ गर्न पत्रकार महासंघको आग्रह

डेकेन्द्रराज थापा हत्या प्रकरण


 

 दैलेख । पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भएका मुख्य अभियुक्तलाई तत्काल पक्राउ गर्न नेपाल पत्रकार महासंघ दैलेख शाखाले माग गरेको छ।महासंघ दैलेख शाखाका अध्यक्ष कमलप्रसाद शर्माको नेतृत्वमा सोमबार जिल्ला प्रहरी कार्यालय पुगेर अदालतको फैसला कार्यान्वयन गर्दै दोषी ठहर भएका अभियुक्तलाई पक्राउ गर्न मागसहित अनुरोधपत्र बुझाइएको हो।

महासंघका प्रतिनिधिले अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति लामो समयसम्म पक्राउ नपर्नु न्यायिक फैसला कार्यान्वयनप्रति गम्भीर प्रश्न भएको भन्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।घटनामा संलग्न रहेको अभियोगमा मुद्दा चलेका व्यक्तिमध्ये अदालतबाट दोषी ठहर भएका मुख्य अभियुक्त अझै पक्राउ नपरेको विषयलाई महासंघले गम्भीर रूपमा लिएको जनाएको छ। पीडित परिवारलाई न्यायको अनुभूति दिलाउन तथा अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने महासंघको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले अदालतको फैसला र प्रचलित कानुनअनुसार दोषी ठहर भएका व्यक्तिको खोजी तथा पक्राउका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ।पत्रकार थापाको २०६१ साउन २७ गते नौमुले गाउँपालिका–३ द्वारीमा तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताले हत्या गरेका थिए। उहाँको हत्या भएको २२ वर्ष पुगेको छ।

प्रकाशित मिति : २०८३ भदौ १६ गते मंगलबार
प्रतिक्रिया