
दैलेख । भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कर्णाली प्रदेश समितिले दुःख व्यक्त गरेको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रतिष्ठान कर्णाली प्रदेश समिति र जिल्ला शाखाहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ३९७ रुपियाँ आर्थिक सहयोग गरिएको छ।
प्रतिष्ठान कर्णाली प्रदेश समितिको बैठकको निर्णयअनुसार तत्कालका लागि उक्त रकम सहयोग गरिएको समितिले जनाएको छ।

प्रतिष्ठान कर्णाली प्रदेश समितिका अध्यक्ष तुल्सी शाहीले विपद् प्रभावित नागरिकको पीडामा साथ दिन सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद्को समयमा पीडित नागरिकलाई राहत र पुनर्स्थापनाका लागि सहयोग गर्नु सबैको साझा दायित्व हो। हाम्रो सानो सहयोगले पनि पीडित परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ।” उहाँले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको बताउनुभयो ।








