
यामराज बिष्ट
दैलेख भदौ २२गते । जिल्लाको ठाटीकाँध गाउँपालिका–१स्थित रहेका नुवावनका नागरिक बर्खायामको बाढीपहिरोले बिग्रिएका ग्रामीण सडकमा यातायातका साधन चल्न नसक्दा स्वास्थ्य उपचारका लागि स्वास्थ्यचौकी पुग्न कठिनाइ भोग्न बाध्य भएका छन्। गाउँदेखि स्वास्थ्यचौकीसम्म पुग्ने सडक बिग्रिएर यातायात सञ्चालन हुन नसक्दा बिरामीलाई स्ट्रेचरमै बोकेर लैजानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
बिरामी भएपछि स्वास्थ्यचौकीसम्म पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपरेको ठाटीकाँध गाउँपालिका–१नुवावनकी २५वर्षीया गोपा कुमारी शाहीले बताउनुभयो। उहाँले सडक मर्मत भए बिरामीलाई गाडीमै स्वास्थ्य चौकीसम्म लैजान सहज हुनेभए पनि सडक मर्मत सफा नहुँदा बिरामीलाई समस्या भएको बताउनुभयो । उहाँले गाउँसम्म सडक पुगेको लामो समय भए पनि नियमित मर्मत नहुँदा वर्षायाममा सडक झनै जीर्ण हुने गरेको बताउनुभयो। उहाँले सडकमा पहिरो, हिलो र ढुङ्गामाटो थुप्रिएपछि यातायातका साधन सञ्चालन गर्न कठिन हुने गरेको बताउनुभयो। उहाँले सडकको पहुँच नभएपछि पछिल्लो समय स्वास्थ्य चौकी जान नसकेपछि स्थानियको सहयोगमा स्ट्रेचरमा जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।
यस्तै सडक सहज नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ समय लाग्ने गरेको ठाटिकाँध गाँउपालिका १का रविन्द्र बहादुर शाहीले बताउनुभयो । उहाँले भत्किएको बाटोको मर्मत नभएपछि बिरामीहरुलाई स्टेचर पैदल हिडेर अस्पताल लैजानु पर्ने बाध्यता भएको बताउनुभयो । उहाँले जनताको दुःखमा आँसु बगाउने नेता धेरै आए, तर दुःख बुझ्ने र समाधान गर्ने नेता अझै नआएको गनुसो गर्नुभयो ।“सडक पुगेको छ, तर सडक सफा र मर्मत नहुँदा बिरामीलाई गाडीमा स्वास्थ्यचौकी लैजान सक्ने अवस्था छैन,” शाही भन्नुभयो, “गम्भीर बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्दा झन् समस्या हुन्छ।”
सडक मर्मत नहुँदा गर्भवती, वृद्धवृद्धा, बालबालिका तथा आकस्मिक बिरामीलाई सडकको अवस्थाले बढी समस्या पार्ने गरेको छ। पछिल्लो समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा बिरामीको अवस्था थप जटिल बन्न सक्ने स्थानीयको चिन्ता छ।
बर्षा कम भएपछि सडक तत्काल मर्मत गरी नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन वडाले पहले गर्ने ठाटिकाँध गाँउपालिका १का वडाध्यक्ष चक्र बहादुर विकले बताउनुभयो। उहाँले उक्त ठाँउ८लाख बराबरको लागनीमा सडक निर्माण गरिएको पनि बर्षातका क्षेति पुगेको बताउनुभयो । उहाँले सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सके उपचारका लागि स्वास्थ्य संस्था पुग्न नागरिकलाई सहज हुने बताउनुभयो ।
स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकले सडककै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयको माग छ। सडक मर्मत नहुँदा सुत्केरी, ज्येष्ठ नागरिक, असक्त र बालबालिकाले स्वास्थ्य समस्या भएको बेला सहजै सेवा लिन समस्या भएको छ ।








