
दैलेख ।महाबु गाउँपालिकाका चार गाउँलाई ‘जलवायु उत्थानशील गाउँ’ घोषणा गरिएको छ। सहास नेपालद्वारा सञ्चालित सीआरभी परियोजनाअन्तर्गत महाबु गाउँपालिका- ४ का काप्रीखोला र मुखियाडाँडा तथा महाबु गाउँपालिका -१ का खरिगैरा र कालासिम गाउँलाई जलवायु उत्थानशील गाउँ घोषणा गरिएको हो।
महाबु गाउँपालिकाको जलवायु उत्थानशील गाउँ निर्देशिका, २०८३ ले निर्धारण गरेका १४ सूचकका आधारमा गरिएको मूल्याङ्कनमा चारवटै गाउँले ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि मापदण्ड पूरा गरेको भन्दै घोषणा गरिएको हो।
परियोजनामार्फत जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा उत्थानशील कृषिसम्बन्धी तालिमसँगै प्लास्टिक घरमा बेमौसमी तरकारी खेती, जैविक मल, उन्नत बीउ, नर्सरी, सिँचाइ तथा पानी संकलनजस्ता अभ्यास प्रवर्द्धन गरिएको छ। सुधारिएको चुलो, पानी फिल्टर तथा मौसम पूर्वसूचना एसएमएस सेवामा समेत सहयोग गरिएको परियोजनाले जनाएको छ।
घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले यसको दिगोपनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
यस्तै प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले घोषणापछिका गतिविधिलाई निरन्तरता दिन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
सहास नेपाल सीआरभी परियोजनाकी संयोजक रोशनी घिमिरेले परियोजनाको अवधि सकिएपछि सुरु भएका गतिविधिको निरन्तरताका लागि गाउँपालिकाले अभिभावकत्व लिनुपर्ने बताउनुभयो। कार्यक्रममा चारवटै गाउँका समूहलाई गाउँपालिकाले प्रशंसापत्रसमेत प्रदान गरेको छ।








