२०८३ भदौ २६ , शुक्रबार

सवारी चालक र पैदलयात्रीलाई सचेत गराउन जानकारीमूलक बोर्ड



दैलेख । जिल्ला ट्राफिक कार्यालय दैलेखले सवारी चालक तथा पैदलयात्रीलाई ट्राफिक नियम पालना गर्न सचेत गराउने उद्देश्यले नारायण नगरपालिका–१ स्थित सडक क्षेत्रमा जानकारीमूलक सचेतनामूलक बोर्ड राखेको छ।
सडक दुर्घटना न्यूनीकरण तथा सवारी चालक र पैदलयात्रीलाई ट्राफिक नियमबारे जानकारी गराउने उद्देश्यले विभिन्न सन्देशसहितका बोर्ड राखिएको जिल्ला ट्राफिक कार्यालय दैलेखले जनाएको छ। सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा तथा सडक अनुशासन कायम गर्न प्रेरित गर्ने गरी बोर्ड राखिएको हो।
जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले सडक दुर्घटना न्यूनीकरणका लागि चालक र पैदलयात्री दुवै सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले ट्राफिक नियमको पालना गराउनेसँगै सडक प्रयोगकर्तालाई नियमबारे जानकारी गराउने उद्देश्यले सचेतनामूलक बोर्ड राखिएको बताउनुभयो।
“सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मात्रै प्रयास गरेर सम्भव हुँदैन, चालक, पैदलयात्री र सबै सडक प्रयोगकर्ता जिम्मेवार बन्नुपर्छ,” उहाँले भन्नुभयो, “सडकमा राखिएका सचेतनामूलक सन्देशलाई व्यवहारमा कार्यान्वयन गर्न सके दुर्घटनाको जोखिम घटाउन सहयोग पुग्छ।”
ट्राफिक कार्यालयले सडकमा सवारी चलाउँदा गति नियन्त्रण गर्न, जथाभावी ओभरटेक नगर्न, पैदलयात्रीले तोकिएको स्थानबाट सडक पार गर्न तथा सडक अनुशासन कायम गर्न आग्रह गरेको छ। कार्यालयले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम तथा सूचना प्रवाहलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २५ गते बिहीबार
प्रतिक्रिया