
दैलेख । अविरल वर्षाका कारण पहिरो गई घरहरूमा क्षति पुगेपछि दैलेखको नारायण नगरपालिका–१ स्थित नमुना बस्तीका आठ घरपरिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भदौ २० गते राति करिब ८ बजे परेको अविरल वर्षाका कारण नमुना बस्तीमा पहिरो गई घरहरूमा भौतिक क्षति पुगेपछि जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिएको हो ।
जोखिममा रहेका परिवारलाई आवश्यक सहयोगसहित सोही वडामा रहेको तरकारी सङ्कलन केन्द्रमा अस्थायी रूपमा स्थानान्तरण गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार आठ घरपरिवारका ३७ जनालाई नारायण नगरपालिका १स्थित रहेको स्थानीय कृषि हाट बजारमा सारिएको हो ।
स्थानान्तरण गरिएका परिवारमा नारायण नगरपालिका–१ निवासी २७ वर्षीया आरती बादीको परिवारका छ जना, २८ वर्षीया ममता बादीको परिवारका पाँच जना, ३२ वर्षीया अन्जु बादीको परिवारका चार जना, ६१ वर्षीया रामकुमारी बादीको परिवारका चार जना, २३ वर्षीय गणेश बादीको परिवारका तीन जना, ४८ वर्षीया कौशिला नेपालीको परिवारका तीन जना, ३८ वर्षीया हिरा बादीको परिवारका सात जना र ४५ वर्षीया बालकुमारी सुनारको परिवारका पाँच जना रहेका छन् ।
नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बस्ती पहिरोको उच्च जोखिममा परेपछि स्थानान्तरण गरिएको बताउनुभयो । उहाँले जोखिममा परेका नागरिकको व्यवस्थापन र बस्तीको दीर्घकालीन समाधानका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले विस्थापित परिवारको दैनिक आवश्यकता पूरा गर्न नगरपालिका सक्रिय रहेको र कृषि हाट बजारमा स्थानान्तरण गरिएका पीडितका लागि खानेपानी तथा शौचालयको व्यवस्था गरिने जानकारी दिनुभयो ।








