
दैलेख । नारायण नगरपालिकाले आयोजना गरेको डेंगी नियन्त्रणसम्बन्धी सन्देशमूलक लोकगीत प्रतियोगितामा महिला स्वास्थ्य स्वयम्सेविका समूह प्रथम भएको छ ।लामखुट्टेको टोकाइबाट सर्ने डेंगीलगायतका रोगबाट बच्ने उपायबारे समुदायमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा टोली नेता देवीसरा नेपालीको समूह प्रथम भएको हो । प्रथम भएको समूहले छ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा गाईखुरे आमा समूह दोस्रो हुँदै पाँच हजार रुपियाँ, खुर्सानीबारी आमा समूह तेस्रो हुँदै चार हजार रुपियाँ र सरस्वती स्वास्थ्य आमा समूहले सान्त्वना स्थान हासिल गर्दै तीन हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार रकमबाट नियमानुसार कर कट्टी गरी प्रदान गरिएको आयोजकले जनाएको छ ।
नगरपालिकाका सि.अ.हे.व अधिकृत लालबहादुर खड्काले डेंगी नियन्त्रणका लागि औषधि उपचारसँगै लामखुट्टेको वृद्धि रोक्ने र व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “डेंगी नियन्त्रणका लागि समुदायको सहभागिता आवश्यक छ । घरआँगनमा पानी जम्न नदिने, सरसफाइ गर्ने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन सके डेंगीको जोखिम घटाउन सकिन्छ ।”
यस्तै नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले डेंगु फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलापमार्फत जनचेतना जगाउने नगरपालिकाको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले डेंगु संक्रमणको जोखिम पछिल्लो समय बढेकाले यसको रोकथामका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नगरपालिकाले बिहीबार जनचेतनामूलक र्याली आयोजना गरेको छ । र्यालीपछि आयोजित कार्यक्रममा आत्महत्याको जोखिममा रहेका व्यक्तिको समयमै पहिचान गरी सहयोग र परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई बेवास्ता नगरी समयमै पहिचान, सहयोग र आवश्यक परामर्श उपलब्ध गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो । नगरपालिकाले जनचेतनामूलक कार्यक्रममार्फत डेंगी नियन्त्रण तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना विस्तार गर्ने जनाएको छ ।








