२०८३ असार ११ , बिहीबार

बैसाखीको सहारामा विद्यालयदेखि खेतबारीसम्म



यामराज बिष्ट
दैलेख। शिक्षक कुमार गौतमको दुवै खुट्टा कमजोर छ तर उहाँका लागि बलियो आत्मविश्वास र भरपर्दो साथी बैसाखी छ । बैसाखीकै भरमा उहाँले शिक्षण पेसासँगै तरकारी खेतीलाई आयआर्जनको बलियो माध्यमसमेत बनाउँदै आउनुभएको छ ।

दैलेखको नारायण नगरपालिका–१, कुइका ५० वर्षीय कुमार गौतम नगर अनुदान शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँको मेहनत, परिश्रम र आत्मविश्वासले भने सबैलाई चकित बनाएको छ । २०३७ सालदेखि उहाँका दुवै खुट्टा प्यारालाइसिसका कारण चल्दैनन् । बैसाखीको भरमा विद्यालय जानेदेखि दैनिक कामकाज र खेतीबारीसमेत समाल्दै आउनुभएको छ ।

उहाँले गर्नुभएको व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुईदेखि तीन लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । मेहनत गर्न सके गाउँमै बसेर पनि राम्रो कमाउन सकिन्छ । अपाङ्गता बाधक बन्दैन भन्ने कुराको शिक्षक कुमार एउटा राम्रो उदाहरण पनि हुनुहुन्छ ।

पेसाले शिक्षक भए पनि उहाँ फुर्सदको समय खेतबारीमा नै बिताउने गर्नुहुन्छ । उहाँका बारीमा अहिले काउली, बन्दा, गोलभेँडा, धनियाँ, मुला, सिमी, प्याज, लसुन जस्ता तरकारीले भरिएका छन् । उहाँ गाउँका अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बन्नुभएको छ । किनभने शारीरिक रूपमा हुने कुनै पनि अशक्तता बलियो इच्छाशक्तिको अघि केही पनि होइन भन्ने कुराको यस गाउँमा उहाँ नै उदाहरण हुनुहुन्छ ।

शारीरिक अवस्थाले चुनौती थपे पनि त्यसलाई कमजोरीका रूपमा होइन, सङ्घर्षमय जीवनमा प्रेरणाका रूपमा लिएर अघि बढेको छु । उहाँले भन्नुभयो, “शारीरिक अपाङ्गता जीवनको बाधा होइन, इच्छाशक्ति र परिश्रम गर्ने दृढ सङ्कल्प भए सफलताको बाटो आफैँ खुल्छ ।” आफूले गरेको तरकारी खेतीबाट प्राप्त आम्दानीले पारिवारिक खर्च व्यवस्थापनमा सहयोग पुगेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार
प्रतिक्रिया