२०८३ साउन १२ , मंगलबार

ब्रोइलर कुखुराबाट वार्षिक ६ लाख आम्दानी



यामराज बिष्ट
दैलेख ।रोजगारीको खोजीमा दैनिकजसो युवाहरू विदेशिने क्रम बढिरहेको बेला दैलेखका एक किसानले कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । स्वदेशमै अवसर खोज्ने र मेहनत गर्न तयार हुने हो भने कृषि तथा पशुपालन क्षेत्रबाट मनग्य आम्दानी गर्न सकिने उदाहरणका रूपमा दैलेखको ठाटीकाँध गाउँपालिका–३ सुईयाका ४० वर्षीय किसान इन्द्रबहादुर बोगटी प्रेरणादायी पात्र बन्नुभएको छ ।उहाँले स्वदेशमै बसेर कृषि तथा पशुपालन व्यवसायबाट उल्लेखनीय सफलता हाँसिल गर्नुभएको हो । व्यवसायिक रुपमा ब्रोइलर कुखुरापालन र तरकारी खेतीमार्फत उहाँले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै ग्रामीण क्षेत्रमा आत्मनिर्भर उद्यमीको उदाहरण प्रस्तुत गर्नुभएको छ।
एक समय रोजगारीको खोजीमा भारत पुगेका बोगटी अहिले आफ्नै गाउँमा सफल कृषकका रूपमा परिचित हुनुहुन्छ । उहाँ २०६१ सालमा रोजगारीका लागि भारत जानुभएको थियो भने २०६७ सालमा स्वदेश फर्किनुभयो। भारतमा कामको अनुभवपछि गाउँमै केही गर्ने अठोटका साथ उहाँले कृषि र पशुपालनलाई रोज्नुभयो ।
करिब आठ वर्षअघि स्थापना गरिएको ‘लक्ष्मण कृषि फलफूल तथा पशुपन्छी फर्म’ मार्फत उहाँले व्यवसायिक रूपमा ब्रोइलर कुखुरा पालन सुरु गर्नुभएको हो । हाल फर्ममा करिब ७ सय ब्रोइलर कुखुरा रहेका छन्। ब्रोइलर कुखुरापालनबाट मात्रै वार्षिक करिब ६ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
कृषक बोगटीले भन्नुभयो,“विदेशमा गएर अनिश्चित भविष्यको खोजी गर्नुभन्दा आफ्नै गाउँमा मेहनत गर्दा राम्रो आम्दानी गर्न सकिन्छ । ब्रोइलर कुखुरापालन सुरु गरेपछि घरखर्च चलाउन, छोराछोरीको शिक्षादिक्षामा सहयोग पुगेको छ । परिवारसँगै बसेर सम्मानजनक जीवन बिताउन पाएको छु।”
ब्रोइलर कुखुरापालनसँगै उहाँले व्यवसायिक तरकारी खेती पनि गर्दै आउनुभएको छ । टमाटर, सिमी, काँक्रो, प्याज र लसुन लगायतका तरकारी उत्पादन गर्दै उहाँले वार्षिक करिब ५ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो । कुखुरापालन र तरकारी खेतीलाई एकअर्काको परिपूरक व्यवसायका रूपमा विकास गरेपछि उत्पादन र आम्दानी दुवै बढेको उहाँको अनुभव छ ।
कृषक बोगटीका अनुसार उपभोक्ताको बढ्दो माग र नियमित उत्पादनका कारण कुखुरापालन व्यवसाय लाभदायक बन्दै गएको छ । व्यवसायिक सोच, निरन्तर मेहनत र परिवारको सहयोगले आफूलाई सफल बनाएको उहाँको भनाइ छ। उहाँले कुखुरा, तरकारीका लागी बजारीकरणमा समस्या भएकाले सरकारले बजारीकरणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
स्थानीय तहले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न तालिम, प्राविधिक सहयोग र अनुदान कार्यक्रम सञ्चालन गरेपछि किसानहरू थप उत्साहित बनेका छन्। यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै युवाहरूलाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गरेको छ ।
बोगटीको सफलताबाट प्रभावित हुँदै ठाटीकाँधका अन्य युवाहरू पनि कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। विदेशको मोह त्यागेर गाउँमै परिश्रम गरे सफलता सम्भव छ भन्ने सन्देश उहाँको जीवन यात्राले दिएको छ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार
प्रतिक्रिया