२०८३ साउन १२ , मंगलबार

असार १५:राष्ट्रिय धान दिवस, खेतीसँगै संस्कृति र उत्सवको संगम



आज देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व हर्षोल्लासका साथ मनाइँदै छ। दैलेखसहित देशका विभिन्न जिल्लामा किसानहरू खेतमा धान रोप्दै, असारे गीत गाउँदै र हिलो खेल्दै यो दिवस मनाइरहेका छन्। ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवसका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ ।

नेपाल कृषि प्रधान देश भएकाले धानलाई प्रमुख खाद्यान्न बालीका रूपमा लिइन्छ। धान उत्पादन बढाउने, किसानलाई कृषि कर्मप्रति प्रोत्साहित गर्ने तथा परम्परागत कृषि संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिएको हो।

असारको झरीसँगै खेतमा रोपाइँ गर्ने परम्परा नेपाली समाजको मौलिक संस्कृति हो। रोपाइँका क्रममा किसानहरू असारे गीत गाउँदै, एक–अर्कामा हिलो छ्यापाछ्याप गर्दै श्रमलाई उत्सवमा रूपान्तरण गर्छन्। यसले कृषि कार्यलाई सहज मात्र बनाउँदैन, आपसी सद्भाव र सहकार्यलाई पनि बलियो बनाउँछ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो। देशको अर्थतन्त्र, खाद्य सुरक्षा र ग्रामीण जनजीवनसँग यसको प्रत्यक्ष सम्बन्ध छ। त्यसैले धान खेतीको आधुनिकीकरण, सिँचाइ सुविधा विस्तार, उन्नत बीउ, मल तथा कृषि प्रविधिमा पहुँच बढाउनु आजको आवश्यकता बनेको छ।
दैलेखका विभिन्न स्थानीय तहमा पनि किसानहरू सामूहिक रूपमा धान रोपाइँमा व्यस्त छन्। कतिपय स्थानमा स्थानीय तह, कृषि कार्यालय तथा विभिन्न संघ–संस्थाले रोपाइँ कार्यक्रम, असारे गीत प्रतियोगिता र किसान सम्मानजस्ता कार्यक्रम आयोजना गरेका छन्।

आजको दिनलाई नेपालमा ‘दही–चिउरा खाने पर्व’का रूपमा पनि चिनिन्छ। वर्षा यामको सुरुमा पर्ने यो पर्वलाई किसानहरू खेतमा धान रोप्दै, रमाइलो गर्दै र दही–चिउरा खाएर मनाउँछन्।नेपाल कृषिप्रधान देश भएकाले असार महिनामा किसानहरू वर्षभरको खाद्यान्न उत्पादन गर्न खेतमै व्यस्त हुन्छन्। आजका दिन खेतमा रोपाइँसँगै छुपुछुपु हिलोमा रमाउने, लोक भाका गाउँदै सामूहिक काम गर्ने र दही चिउरा खाएर शक्ति संचित गर्ने चलन छ।असार १५ लाई दही–चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ। रोपाइँको कठिन श्रमपछि दही–चिउरा खाने परम्पराले नेपाली समाजको मौलिक संस्कृति झल्काउँछ।

१२ असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । लुुम्बिनी प्रदेशमा २०.९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेशमा १२.७ प्रतिशत अर्थात् ११ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
यस्तै बागमती प्रदेशमा १२.६ प्रतिशत अर्थात् १४ हजार ४२० हेक्टर क्षेत्रफलमा, सुुदूरपश्चिममा ९.३ प्रतिशत अर्थात् १५ हजार आठ सय हेक्टरमा र कोशी प्रदेशमा ८.३ अर्थात् २२ हजार ८१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा पाँच प्रतिशत अर्थात् १९ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।कृषि विभागका अनुसार देशका करिब २७ लाख ६५ हजार कृषक परिवार प्रत्यक्ष रूपमा धान खेतीमा संलग्न छन् ।

राष्ट्रिय धान दिवसले कृषि उत्पादन वृद्धि, किसानको सम्मान, खाद्य आत्मनिर्भरता र नेपाली मौलिक संस्कृतिको संरक्षणका लागि सबैलाई प्रेरणा दिने विश्वास गरिएको छ। राष्ट्रिय धान दिवसको रुपमा असार १५ मनाउने निर्णय पहिलो पटक २०६१ सालमा मन्त्रीस्तरीय निर्णयबाट भएको थियो।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार
प्रतिक्रिया