
कालीकोट, असार १७ — एक समय गाउँभरिका मानिस दुःख–सुखमा एकै ठाउँ उभिन्थे। कसैको घरमा विवाह होस् वा मृत्यु, हातेमालो गर्ने मानिसको कमी हुँदैनथ्यो। तर अहिले कालीकोटका गाउँमा अवस्था फेरिएको छ। गाउँमा मानिस छन्, तर काँध दिने युवा छैनन्।
रास्कोट नगरपालिका–२, सिप्खाना गाउँका मथुरा उपाध्यायको निधन भएपछि अन्त्येष्टिका लागि शव आर्यघाटसम्म लैजानसमेत गाउँमा पर्याप्त युवा भेटिएनन्। अन्ततः छिमेकी गाउँबाट मानिस बोलाएर मात्र शव उठाउन सकियो। यो घटना अहिले कालीकोटका धेरै गाउँको यथार्थ बनेको छ।
स्थानीय भानुप्रसाद आचार्यका अनुसार रोजगारीका लागि अधिकांश युवा विदेश वा सहर पुगेका छन्। विद्यार्थी पनि उच्च शिक्षाका लागि गाउँ छाडिरहेका छन्। परिणामस्वरूप गाउँमा ज्येष्ठ नागरिक, महिला र बालबालिका मात्र बढी देखिन्छन्। “अहिले मृत्यु, विवाह, व्रतबन्ध वा कुनै सार्वजनिक काम परे पनि मानिस जुटाउनै मुस्किल हुन्छ,” उहाँले भन्नुभयो।
युवाको अभावले गाउँको सामाजिक जीवन मात्र होइन, कृषि प्रणालीसमेत प्रभावित भएको छ। मुख्य खेतीपातीको समयमा खेतबारीमा काम गर्ने जनशक्ति नहुँदा उब्जाउ जमिन बाँझिन थालेको छ। परम्परागत खेती कमजोर बन्दै गएको छ भने उत्पादन पनि घट्दै गएको स्थानीयहरूको भनाइ छ।
युवाको निरन्तर पलायनसँगै विद्यालयमा विद्यार्थी सङ्ख्या घटेको, सांस्कृतिक गतिविधि सुनसान बनेको र गाउँको चहलपहल हराउँदै गएको गुनासो स्थानीयको छ। श्रमशक्ति अभावले विकास निर्माणका कामसमेत प्रभावित भइरहेका छन्।
पूर्व गाविस अध्यक्ष लक्ष्मीप्रसाद सिम्खडाले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र उद्यमशीलता प्रवर्द्धनका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार विकास योजनामा राजनीतिक आस्थाका आधारमा हुने विभेद अन्त्य गरी सबैलाई समान अवसर दिने वातावरण बने मात्र युवालाई गाउँमै रोक्न सकिन्छ।
सिप्खानाको यो घटना एउटा गाउँको मात्र कथा होइन। यो कालीकोटका धेरै गाउँको साझा पीडा हो, जहाँ अहिले जीवनभन्दा बढी युवाको अनुपस्थिति महसुस हुन थालेको छ।








