२०८३ भदौ २७ , शनिबार

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्दै



 

काठमाडौँ । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको उपाधिका लागि नेपाल र युनाइटेड अरब इमिरेट्स ९युएई० आज आमनेसामने हुँदैछन् ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । फाइनल जित्ने टोलीले आगामी एसिया कपमा स्थान बनाउने भएकाले खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

नेपाल र युएई यसअघि एक–एक पटक प्रिमियर कपको च्याम्पियन बनिसकेका छन् । सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको थियो । युएईले सन् २०२४ मा आयोजक ओमानलाई हराउँदै दोस्रो संस्करणको उपाधि हात पारेको थियो ।

जारी प्रतियोगितामा नेपालले पाँच खेलमध्ये चारमा जित र एकमा हार बेहोरेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् । नेपालले ११ र युएईले आठ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा नेपालले तीन खेलमा जित निकालेको छ ।

नेपाल र युएईबीच पछिल्लो पटक गत मेमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगिताका दुवै खेल नेपालले जितेको थियो ।

आजको फाइनलमा नेपाल लगातारको जितलाई निरन्तरता दिँदै उपाधिसँगै एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार
प्रतिक्रिया