२०८३ भदौ २७ , शनिबार

हिमतालको जोखिममा लिमीका दुई बस्ती



 

हुम्ला । आकाशमा बादल मडारिन थालेपछि हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाको चिन्ता बढ्छ । पानी परेपछि घरमै सुरक्षित बस्न सकिने अवस्था छैन । गाउँमाथिका हिमतालबाट पानी चुहिने र बाढीपहिरो आउन सक्ने त्रासले स्थानीयलाई वर्षायाममा झनै सताउने गरेको छ ।

लिमीका तील र हल्जी गाउँका बासिन्दा वर्षौंदेखि हिमताल तथा हिमपहिरोको जोखिममा बस्दै आएका छन् । पछिल्ला वर्षमा गाउँमाथिका हिमतालबाट पानी चुहिएर बाढी तथा पहिरो आउने क्रम दोहोरिएपछि स्थानीयमा जोखिमको त्रास थपिएको हो ।

तील गाउँका स्थानीय कोनुर्वु लामाका अनुसार दुई वर्ष लगातार गाउँमाथिको हिमालमा रहेको हिमतालबाट पानी चुहिएर बाढी आएपछि गाउँमा क्षति पुगेको थियो । बाढीले गाउँ नजिकै ठूलो दरारसमेत बनाएको छ ।

‘पानी पर्न थालेपछि गाउँमा बस्न डर लाग्छ,’ उहाँले भन्नुभयो, ‘वर्षा हुन थालेपछि सुरक्षित ठाउँ खोजेर पारीपट्टिको चौरमा गएर बस्नुपर्ने अवस्था छ ।’

तील गाउँमा १८ घरधुरीको बसोबास छ । गाउँमाथि हिमताल रहेकाले सामान्य वर्षा हुँदा पनि स्थानीयले जोखिमको आकलन गर्दै सतर्क रहनुपर्ने अवस्था छ ।

लिमीकै अर्को बस्ती हल्जी पनि हिमताल र हिमपहिरोको जोखिममा छ । स्थानीय कुन्जोक तामाङका अनुसार गाउँनजिकैको खोलामा चार वर्षअघि हिमताल फुटेर पहिरो आउँदा चार घरमा क्षति पुगेको थियो ।

पानी पर्न थालेपछि स्थानीयलाई चनाखो भएर बस्नुको विकल्प नभएको उहाँले बताउनुभयो । हल्जी गाउँमा करिब ८० घरधुरीको बसोबास छ ।

जोखिमका बीच पनि स्थानीयले गाउँ छाड्न सकेका छैनन् । हल्जीमा करिब एक हजार दुई सय वर्ष पुरानो गुम्बा रहेकाले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गाउँ छाड्न स्थानीय अनिच्छुक देखिन्छन् ।

स्थानीयका अनुसार बाढीपहिरोको जोखिमबाट सुरक्षित हुन दीर्घकालीन उपाय आवश्यक छ । वर्षा सुरु भएपछि मात्र सतर्कता अपनाउनेभन्दा गाउँमाथिका हिमतालको अवस्था अध्ययन, जोखिम क्षेत्र पहिचान र सम्भावित विपद्को पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उनीहरूको माग छ ।

लिमीका यी दुई बस्तीमा वर्षा प्राकृतिक मौसम मात्रै होइन, सम्भावित विपद्को संकेत पनि बन्ने गरेको छ । हिमतालको जोखिमबीच पुस्तौँदेखि बस्दै आएका स्थानीयका लागि सुरक्षित बसोबासको व्यवस्था र जोखिम न्यूनीकरण अब तत्काल सम्बोधन गर्नुपर्ने विषय बनेको छ ।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार
प्रतिक्रिया