२०८३ भदौ २८ , आइतबार

शिक्षकको व्यावसायिक विकाससम्बन्धी तीनदिने क्षमता विकास कार्यशाला



दैलेख । नारायण नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पेसागत विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले तीनदिने क्षमता विकास कार्यशाला सम्पन्न भएको छ। पालिका रहेका शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यले पाठ्यक्रम कार्यशाला गोष्ठी गरिएको हो ।

नारायण नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा समाज जागरण केन्द्र (स्याक) नेपालको समन्वय तथा ब्रिटिस काउन्सिल–युनिसेफको प्राविधिक सहकार्यमा शिक्षकहरूको क्षमता विकास गर्ने उद्देश्यले पाठ्यक्रम कार्यशाला गोष्ठी गरिएको हो ।

कार्यशालामा विद्यालयमै शिक्षक सहकर्मीमार्फत कक्षा अवलोकन, पृष्ठपोषण तथा नमुना कक्षा प्रदर्शन गरी शिक्षकको निरन्तर पेसागत विकासमा सहयोग पुर्‍याउने विषयमा प्रशिक्षण दिइएको थियो। कक्षा सहजीकरणको अवलोकनमार्फत विशेषगरी बालबालिकाको आधारभूत भाषिक तथा गणितीय सीप ९एफएलएन० विकासका विषयमा समेत प्रशिक्षण दिइएको थियो।

 

तीनदिने कार्यशालाको सहजीकरण ब्रिटिस काउन्सिलका एकेडेमिक संयोजक तेजप्रकाश रिमालले गर्नुभएको थियो। कार्यशालामा नारायण नगरपालिकामा कार्यरत १७ जना शिक्षक सहभागी भएका थिए। कार्यशालाबाट सहभागी शिक्षकले कक्षा अवलोकन, पृष्ठपोषण र सहकर्मी शिक्षकलाई पेसागत सहायता प्रदान गर्ने विषयमा क्षमता विकास गरेका छन्।

शिक्षक पुष्पा थापाले तालिममा सिकेका ज्ञान र सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्नुपर्ने बताउनुभयो। नगरपालिकाले आयोजना गरेको तालिमले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।

त्यस्तै शिक्षक जीवराज तिमिल्सिनाले तालिमका माध्यमबाट शिक्षण सिकाइसँग सम्बन्धित विभिन्न विषयमा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा प्रयोग गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउन सकिने उहाँले बताउनुभयो।

नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले शिक्षकको क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउन नगरपालिकाले तालिम आयोजना गरेको बताउनुभयो। तालिममा सिकेका ज्ञान र सीपलाई शिक्षण कार्यमा सदुपयोग गर्न शिक्षकलाई आग्रह गर्दै उहाँले शिक्षकको पेसागत विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभयो।

नारायण नगरपालिकाका प्रमुख शिक्षा अधिकृत पूर्णप्रसाद उपाध्यायले शिक्षकको पेसागत क्षमता विकाससँगै कक्षाकोठामा त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। तालिममा सिकेका विषयलाई व्यवहारमा लागू गर्दै सहकर्मी शिक्षकबीच अनुभव आदानप्रदान, कक्षा अवलोकन र पृष्ठपोषणको अभ्यासलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो।

तीनदिने कार्यशालापछि नारायण नगरपालिकाका ३९ वटा सामुदायिक विद्यालयमा तीन चरणमा कक्षा अवलोकन तथा पृष्ठपोषण गर्ने कार्ययोजना बनाइएको छ। प्रत्येक विद्यालयका कम्तीमा तीन जना शिक्षकको कक्षा अवलोकन गरी पृष्ठपोषण प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ।यसबाट शिक्षकको निरन्तर पेसागत विकाससँगै विद्यार्थीको आधारभूत भाषिक तथा गणितीय सीप सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार
प्रतिक्रिया