दुर्गम हिमाली जिल्ला हुम्लामा पहिलो पटक गर्भवती महिलाको सफल शल्यक्रिया भएको छ । कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून स्वास्थ्यकर्मीबिच पनि जिल्ला अस्पताल हुम्लाले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख तथा एमडिजिपी डा. उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट गाउँपालिका–२ स्थित ठेहे गाउँकी २१ वर्षीय हिरा सुनारको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । सुनारले तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माउनुभएको थियो । यस पटक उहाँले जिल्ला अस्पतालमै सुरक्षित रूपमा दोस्रो सन्तानलाई जन्म दिएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोराले बताउनुभयो । अहिले आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी उहाँले दिनुभयो ।
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार







