
काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँग ३ रनले पराजित हुँदै नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
जितका लागि २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। यस हारसँगै २४ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ भने २६ अंक जोडेको नामिबिया पाँचौं स्थानमा उक्लिएको छ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले अविजित ३८, कुशल भुर्तेलले ३४ तथा गुल्सन झाले अविजित १९ रन बनाए। अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन आवश्यक रहे पनि टोलीले १३ रन मात्र जोड्न सक्यो र ३ रनको झिनो हार बेहोर्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो। जान फ्राइलिन्कले १४९ बलमा ३ चौकासहित १०० रनको शतकीय इनिङ्स खेले भने लउरेन स्टिनक्याम्पले ५९ रनको योगदान दिए।
नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए। खेलपछि उहाँले व्यक्तिगत उपलब्धि टोलीको जितमा परिणत गर्न नसकिएको भन्दै दुःख लागेको बताउनुभयो। साथै, यस खेलमा ५ विकेट लिएसँगै करणले एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने नेपालका दोस्रो खेलाडी बन्नुभएको छ। सन्दीप लामिछानेपछि उक्त उपलब्धि हासिल गर्ने उहाँ दोस्रो नेपाली खेलाडी हुनुहुन्छ।








