
हुम्ला । नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत नाम्खा गाउँपालिका–६ को लाप्चाबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको चिनियाँ मदिरा तथा बियर सुरक्षाकर्मीले बरामद गरेका छन्। बरामद सामग्रीको बजार मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट चिनियाँ मदिरा भित्र्याइएको सूचना पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा संयुक्त सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। टोलीले सल्ली क्षेत्रमा खोजी गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएको मदिरा तथा बियर फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार सुरक्षाकर्मीले ५९४ कार्टुन चिनियाँ मदिरा बरामद गरेका छन्। प्रत्येक कार्टुनमा १२ बोतलका दरले उक्त मदिराको संख्या ७ हजार १२८ बोतल रहेको छ।
यसैगरी, १९४ कार्टुन चिनियाँ बियर पनि बरामद भएको छ। एउटा कार्टुनमा २४ बोतलका दरले बियरको कुल संख्या ४ हजार ६५६ बोतल रहेको प्रहरीले जनाएको छ।








