२०८३ भदौ २६ , शुक्रबार

विद्यार्थीलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना



 

दैलेख । दुल्लू नगरपालिकाको आयोजनामा विद्यालयस्तरीय मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। दुल्लू नगरपालिका–१२ लम्सुस्थित सूर्योदय माध्यमिक विद्यालयमा शुक्रबार कार्यक्रम आयोजना गरिएको हो।

दुल्लू नगरपालिका–१२ का वडा अध्यक्ष लीलाराम लम्सालको अध्यक्षता दुल्लू नगरपालिका उपप्रमुख बिना कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

मनोपरामर्शकर्ता तथा प्रशिक्षक दुर्गा लम्सालले सहजीकरण गर्नुभएको कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, तनाव व्यवस्थापन र सकारात्मक सोचलगायतका विषयमा विद्यार्थीलाई जानकारी तथा सचेतनामूलक प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा शारीरिकसँगै मानसिक रुपमा स्वस्थ रहने कुरा महत्वपूर्ण रहेको भन्दै नगरपालिकाले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरणका लागि काम गर्ने दुल्लू नगरपालिका उप-प्रमुख बिना कार्कीले बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटना न्यूनीकरणका लागि सबैले समयमै सचेत हुन आग्रह गर्नुभयो ।

विद्यार्थीमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकासमा कार्यक्रम उपयोगी हुने विद्यालयले जनाएको छ। विद्यार्थीको मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार
प्रतिक्रिया