
जाजरकोट ।अविरल वर्षापछि आएको बाढीपहिरोमा परी जाजरकोटमा दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्। पहिरोले भेरी नगरपालिकाका विभिन्न स्थानमा घर तथा संरचनामा क्षति पुर्याएको छ भने ग्रामीण सडकहरू समेत अवरुद्ध भएका छन्।
भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र ७० वर्षीय भीमबहादुर कार्की पहिरोपछि बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासी परिचालन भएका छन्।
वर्षापछि आएको पहिरोले भेरी नगरपालिका–१, २ र ३ मा तीनवटा घरमा क्षति पुर्याएको छ। भेरी नगरपालिका–२ रिसाङ्का विभिन्न बस्तीमा गएको पहिरोका कारण धनजनको क्षति भएको छ भने अझै धेरै घर जोखिममा रहेका छन्।
भेरी नगरपालिका–२ का बिर्खबहादुर कार्कीका अनुसार उमाप्रसाद खत्री र शशीराम विकको घर पहिरोले बगाएको छ। घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासीले खोज तथा उद्धारको काम जारी राखेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी बुद्धीसागर पुरीका अनुसार भेरी नगरपालिका–३ स्यालास्थित पूर्णबहादुर विकको दुईतले कच्ची घर पहिरोले पूर्ण रूपमा क्षति भएको छ।
यसैगरी, भेरी नगरपालिका–२ रिसाङ्का ४५ वर्षीय सिद्धीबहादुर कामीको आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा सोही गाउँका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। पहिरोमा परी भेरी नगरपालिका–२ की ५७ वर्षीया भद्रावली कार्की, डौरीकाँडाका ४५ वर्षीय मनवीर चदारा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतिकला विकलगायत घाइते भएका छन्।
घाइतेमध्ये पाँच जनालाई जाजरकोट अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
पहिरोका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको कालेगाउँमा समेत सडक अवरुद्ध भएको छ। जिल्लाका विभिन्न गाउँबस्तीमा पहिरोका कारण सडक अवरुद्ध भएपछि उद्धार तथा आवतजावतमा समस्या भएको छ।
सुरक्षाकर्मीको टोली पैदलै घटनास्थलमा पुगेर बेपत्ताको खोजी तथा उद्धारमा जुटिरहेको प्रहरीले जनाएको छ।








