
दैलेख । धार्मिक, ऐतिहासिक, पुरातात्त्विक तथा सामाजिक महत्व बोकेको दैलेखको बेलासपुर बटुक भैरव मन्दिर पछिल्लो समय पर्यटक तथा श्रद्धालुको आकर्षणको केन्द्र बन्दै गएको छ। दैलेख सदरमुकाम नजिकै डाँडाको थुम्कोमा अवस्थित मन्दिरबाट सदरमुकामसहित आसपासका सुन्दर हरियाली डाँडाकाँडा र हिमाली दृश्यको अवलोकन गर्न सकिन्छ।
दैलेख सदरमुकामबाट करिब सात मिनेट सवारी यात्रापछि मन्दिरको फेदी पुगिन्छ। त्यहाँबाट डाँडाको थुम्कोसम्म पुग्न ३ सय २६ वटा सिँढी चढ्नुपर्छ। सिँढी चढ्न सुरु गरेदेखि नै वरपरको रमणीय प्राकृतिक वातावरणले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ।
मन्दिर परिसरबाट दैलेख सदरमुकाम तथा आसपासका अधिकांश भूभागको दृश्यावलोकन गर्न सकिन्छ। चारैतिर देखिने हरियाली डाँडाकाँडा, टाढा देखिने हिमाल र शान्त वातावरणले धार्मिक यात्रासँगै प्राकृतिक सौन्दर्यको आनन्दसमेत प्रदान गर्ने गरेको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार ऐतिहासिक कालमा पूर्वतर्फ चौबिसे र पश्चिमतर्फ बाइसे राज्य अस्तित्वमा रहेका बेला यस क्षेत्रमा पनि बेलापुर राज्यको राजकाज सञ्चालन भएको थियो। सोही ऐतिहासिक पृष्ठभूमिसँग बेलासपुर मन्दिरको स्थापना जोडिएको स्थानीयको भनाइ छ।
बेलासपुर बटुक भैरव मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने श्रद्धालुले आफ्नो मनोकामना पूरा हुने विश्वास राख्ने गरेका छन्। यही विश्वासका कारण भक्तजनले मन्दिरमा भेटी तथा अन्य धार्मिक सामग्री चढाउने गरेका छन्।
धार्मिक आस्थासँगै ऐतिहासिक र प्राकृतिक महत्वसमेत बोकेको बेलासपुर मन्दिरमा पछिल्लो समय भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको छ। मन्दिरसम्म पुग्ने सिँढी, वरपरको प्राकृतिक भूगोल तथा दृश्यावलोकनका कारण यो क्षेत्र दैलेखको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।








