२०८३ भदौ २६ , शुक्रबार

प्रभावकारी बन्दै न्यायिक समिति



यामराज बिष्ट
दैलेख । पछिल्लो समयमा नारायण नगरपालिकामा न्यायिक समितिमार्फत स्थानीयस्तरमा विवाद समाधान गर्ने अभ्यास प्रभावकारी बन्दै गएको छ। न्यायिक समिति मार्फत सामान्य प्रकृतिका विवाद घरायसी र सामाजिक समस्या लिएर नगरपालिकाको न्यायिक समितिमा आउने गरेपछि प्रभावकारी बन्दै गएको देखिएको छ ।
नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक तप्ता थापाले स्थानीयस्तरमै विवाद समाधान गर्न सकिने भएकाले न्यायिक समिति नागरिकका लागि सहज माध्यम बन्दै गएको बताउनुभयो। उहाँले सामान्य विवादलाई अदालतसम्म लैजानुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले समितिले दुवै पक्षलाई राखेर छलफल तथा मेलमिलापका माध्यमबाट समस्या समाधान गर्दै आएको बताउनुभयो । उहाँले नारायणका प्रत्येको वडामा मेलमिलाकर्ता भएका कारण समस्या समाधान वडामा हुने भएकाले पालिकामा उजरी कम आउन गरेकोे बताउनुभयो
“स्थानीयस्तरमा हुने सामान्य विवादलाई आपसी समझदारी र मेलमिलापका माध्यमबाट समाधान गर्ने प्रयास गरेका छौँ उपप्रमुख थापाले भन्नुभयो“न्यायिक समितिको अधिकार क्षेत्रभित्र पर्ने विषयमा कानुनी प्रक्रिया पूरा गरी न्यायोचित ढंगले समाधान गर्ने गरेका छौँ।”
यस्तै नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गीता बुढाका अनुसार पछिल्लो एक वर्ष यता शाखामा विभिन्न प्रकृतिका १०वटा उजुरी आएका छन्। उहाँले यी मध्ये १० वटा उजुरी मिलापत्र गरी फछ्र्यौट गारिएको बताउनुभयो ।जिल्लाको सदरमुकाको पालिका भएकाले तीमध्ये महिला तथा पारिवारिक विवादसँग सम्बन्धित उजुरी समेत रहेको उहाँले बताउनुभयो। उहाँले न्यायिक समितिमा सबैभन्दा बढी बालि नोक्सानी,आर्थिक लेनदेनको विवाद आउने गरेको बतायनुभयो ।
उहाँले शाखामा आउने उजुरीलाई सामान्य रूपमा नलिई सम्बन्धित पक्षसँग छलफल गर्ने, आवश्यक परामर्श दिने र न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने विषय भए समितिसमक्ष पठाउने गरिएको छ।“एक वर्षमा १० वटा उजुरी आएका छन्। उजुरी आएपछि सम्बन्धित पक्षसँग छलफल गरेर समस्या समाधानको प्रयास गर्ने गरेका छौँ,” शाखा प्रमुख बुढाले भन्नुभयो। विवादलाई लामो समयसम्म तन्किन नदिई स्थानीयस्तरमै समाधान गर्न सके नागरिकको समय र खर्चसमेत बचत हुने उहाँको भनाइ छ।

स्थानीय तहमा न्यायिक समिति गठन भएपछि सामान्य विवाद समाधानका लागि जिल्ला सदरमुकाम वा अदालतसम्म धाउनुपर्ने नागरिकको बाध्यता केही हदसम्म घटेको छ। विशेषगरी पारिवारिक विवाद, लेनदेन, सिमाना तथा अन्य स्थानीय विवादमा मेलमिलापको माध्यमबाट समाधान खोज्ने गरिएको छ।
न्यायिक समितिको प्रभावकारिता बढेसँगै सानो विवादमा पनि अदालत नै जाने प्रवृत्तिमा विस्तारै कमी आउन नारायण नगरपालिका ६ निवासी सन्त बिष्टले बताउनुभयो। उहाँले जिल्लाका सबै पालिकामा न्यायिक समिति सक्रिय भएर विवाद समाधान गर्न थालेपछि पछिल्लो समयमा विवाद तथा घरायसी कम हुन थालेको बताउनुभयो।
नगरपालिकाले आगामी दिनमा न्यायिक समितिको कामलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासा तथा विवादलाई समयमै सम्बोधन गर्ने जनाएको छ। स्थानीयस्तरमा हुने सामान्य विवादको समाधान मेलमिलापबाटै गर्न सके सामाजिक सम्बन्ध कायम राख्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार
प्रतिक्रिया