
दैलेख। वर्षासँगै नौमुले गाउँपालिका–३ भाँडेमा भाइरल ज्वरोका बिरामी बढेका छन् । एक सातायता गाउँका कम्तीमा १८ घरधुरीमा ज्वरोका बिरामी परेको स्थानीयले बताएका छन् ।
भाँडेका ठुलो चम्लाए, निर्गा, भावसैनी र भित्री खोला लगायतका बस्तीमा ज्वरोका बिरामी देखिएको स्थानीय अगुवा गंगाराम सापकोटाले बताउनुभयो । एक सातादेखि गाउँमा ज्वरोको समस्या देखिए पनि नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो ।
“हप्ता दिनदेखि गाउँमा ज्वरोका बिरामी छन् । ज्वरो नियन्त्रणमा आएको छैन,” उहाँले बताउनुभयो ।
भौगोलिक रूपमा विकट रहेको भाँडेबाट उपचारका लागि नौमुले बजार पुग्न करिब तीन घण्टा र द्धारी स्वास्थ्य चौकी पुग्न झण्डै दुई घण्टा लाग्ने स्थानीयले बताएका छन् । वर्षाका कारण बाटोसमेत कठिन भएकाले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएको उनीहरूको भनाइ छ ।
अन्यत्र कार्यरत अस्थायी स्वास्थ्यकर्मी वसन्त सापकोटाले बिहान–साँझ गाउँमा पुगेर बिरामीलाई सिटामोल वितरण गर्दै आए पनि ज्वरोका बिरामी निको नभएको स्थानीयले बताएका छन् ।
स्थानीय भविलाल सुनखरी आफू पाँच दिनदेखि ज्वरोले थलिएको बताउनुभयो । भाँडेमै रहेको कागते स्वास्थ्य एकाइसमेत करिब एक वर्षदेखि बन्द रहेकाले गाउँमै उपचारको सुविधा नभएको उहाँले बताउनुभयो ।
ज्वरोका बिरामी बढे पनि हालसम्म स्वास्थ्य सेवा कार्यालय दैलेख वा प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेबाट स्वास्थ्यकर्मी प्रभावित गाउँमा पुग्न नसकेको स्थानीयको गुनासो छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा। मनोज विश्वकर्माले भाँडेमा ज्वरोका बिरामी रहेको जानकारी प्राप्त भएकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भइरहेको बताउनुभयो ।
“भाँडेमा ज्वरोका बिरामी भएको भर्खरै खबर आएको छ । तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर अवस्था बुझ्ने र आवश्यक उपचारको व्यवस्था मिलाउँछौँ,” उहाँले बताउनुभयो ।
स्वास्थ्यकर्मीको टोलीले प्रभावित गाउँमा पुगेर बिरामीको अवस्था, ज्वरोको कारण तथा आवश्यक उपचारबारे अध्ययन गर्ने जनाइएको छ ।








