
यामराज बिष्ट
दैलेख । वर्षाका कारण सडकमा पहिरो खस्दा नौमूले गाउँपालिका–१ तोलीदेखि भाङ्घारी हुँदै राइली जाने ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि सडकमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुई दिनदेखि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो।
पहिरोका कारण सडकमा मानिससमेत सहज रूपमा हिँड्न नसक्ने अवस्था सिर्जना भएको स्थानीयले गणेश बहादुर थापामगरले बताउनुभयो।उहाँले सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ल्याउन, बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान तथा अन्य कामका लागि गाउँबाहिर जानसमेत कठिनाइ भएको बताउनुभयो । उहाँले सडक बन्द भएपछि विशेषगरी बिध्यार्थी,ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने परिवार बढी प्रभावित भएका बताउनुभयो। उहाँले गाउँसम्म खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री यही सडकबाट ल्याउनुपर्ने भएकाले लामो समय सडक बन्द भए थप समस्या हुने स्थानीयको चिन्ता ब्यक्त गर्नुभयो।
यस्तै दुई दिनदेखि सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको नौमूले गाउँपालिका–१ का वडाध्यक्ष रुपेश थापामगरले बताउनुभयो। उहाँले तोलीदेखि राइलीसम्मको सडकखण्डमा पहिरोका कारणले सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको बताउनुभयो। उहाँले पहिरोको कारण सडक अवरुद्ध हुदाा बालबालिकाले पढ्ने र दुःख पाउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले पसीमित बजेट र स्रोतसाधन भएका कारण बर्सातको समयमा जाने पहिरो हटाएर सडक सञ्चालन गर्न समस्या ढिलाई भएपनि अवरुद्ध सडक खुलाउने प्रयास गरिएको बताउनुभयो ।
“पहिरो ठूलो भएकाले तत्काल सडक खुलाउन समस्या भइरहेको छ। भाङ्घारी नजिकै ठूलो पहिरो गएको छ,” वडाध्यक्ष थापामगरले भन्नुभयो, “वडा सरकारको तर्फबाट सडक खुलाउन पहल भइरहेको छ। तर आवश्यक साधनस्रोत र उपकरणको अभावले ढिलाई भएको छ।”उहाँले वडा कार्यालयको बजेटले मात्र ठूलो पहिरो हटाउन कठिन हुने बताउनुभयो। “तोलीदेखि राइलीसम्म सडक सञ्चालनका लागि आवश्यक बजेट र साधनको व्यवस्था गर्नुपर्ने अवस्था छ। ठूलो पहिरो भएकाले डोजर लगायतका उपकरण परिचालन गर्नुपर्ने देखिएको छ,” उहाँले भन्नुभयो।
निरन्तर वर्षा भइरहेकाले सडकमा थप पहिरो खस्ने जोखिमसमेत रहेको स्थानीयको भनाइ छ। उनीहरूले तत्काल डोजर तथा आवश्यक उपकरण परिचालन गरी सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।स्थानीयले तत्काल पहिरो हटाउनुका साथै वर्षायाममा पटक–पटक सडक अवरुद्ध हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्न जोखिमयुक्त क्षेत्रमा नाली, ग्याबिन वाल तथा अन्य आवश्यक संरचना निर्माण गर्न माग गरेका छन्।








