सुर्खेत, भदौ ४ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट मुख्यमन्त्री बन्नुभएका शाहीले बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको हो । नेकपा एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको थियो ।
प्रदेशसभामा सभामुखबाहेक ३६ जना सदस्यले मतदान गर्नुभएको थियो । मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २१ र विपक्षमा १३ मत परेको थियो । दुई जना सदस्य तटस्थ बस्नुभएको थियो भने तीन जना बैठकमा अनुपस्थित रहनुभएको थियो ।
मुख्यमन्त्री शाहीलाई आफ्नै दल नेकपाका १४ मध्ये १३ र नेकपा एमालेका १० मध्ये आठ जना प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको थियो । ४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ ।
मतदानमा पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य सन्तोषी शाही तटस्थ बस्नुभएको थियो ।
नेपाली कांग्रेस र नेकपाबीच दुई वर्षदेखि कायम रहेको सत्ता गठबन्धन भत्किएपछि नेकपा र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेको हो । एमालेको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।








