
दैलेख । पछिल्लो समय दैलेख जिल्लामा भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्न थालेका छन्। केही दिनयता जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माका अनुसार जिल्ला अस्पतालमा दैनिक ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा आउने अधिकांश बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिने गरेको उहाँले बताउनुभयो। उहाँले हरेक वर्ष साउन, भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका बताउनुभयो । उहाँले मैसम परिर्वतन,बर्सात्को समयमा दूषित पानी पिउने गरेका कारण बिरामी बढिरहेका बताउनुभयो।
नौमूले गाउँपालिका–३भाँडेमा ज्वरोका बिरामी बढेको जानकारी आएपछि जिल्लाबाट स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको डा। विश्वकर्माले बताउनुभयो। टोलीले ज्वरो भाइरल संक्रमणका कारण भएको हो वा अन्य कुनै रोगका कारण भन्नेबारे अध्ययन गरी आवश्यक उपचारको व्यवस्था मिलाउने उहाँले जानकारी दिनुभयो।
वर्षासँगै नौमूले गाउँपालिका–३ भाँडेमा ज्वरोका बिरामी बढेका छन्। स्थानीयका अनुसार पछिल्लो एक सातामा गाउँका करिब १८ घरधुरीमा ज्वरोका बिरामी देखिएका छन्।नौमूले गाँउपालिका भाँडेका ठुलो चम्लाए, निर्गा, भावसैनीलगायतका बस्तीमा ज्वरोका बिरामी देखिएको स्थानीय अगुवा गंगाराम सापकोटाले बताउनुभयो। उहाँले करिब एक सातादेखि गाउँमा ज्वरोको समस्या देखिँदै आएको बताउनुभयो।
पालिकाको स्वास्थ्यकर्मीको टोलीले प्रभावित गाउँमा पुगेर बिरामीको अवस्था आवश्यक उपचारबारे अध्ययन गरिएको नौमूले गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र शाहीले बताउनुभयो। उहाँले अनुसार प्रभावित क्षेत्रमा करिब ५५ जनामा रुघाखोकी र ज्वरोको समस्या देखिएको बताउनुभयो । उहाँले जिल्लाबाट स्वास्थ्यकर्मीको टोली आएका कारण बिरामीको बारेमा जानकारी हुने बताउनुभयो ।








