
यामराज बिष्ट
दैलेख । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा स्वास्थ्यकर्मीमाथि कामको चाप बढ्नुका साथै सेवा प्रवाहमा समस्या भएको हो ।
स्वास्थ्य सेवा कार्यालयअन्तर्गत विभिन्न सेवा सञ्चालन भइरहे पनि आवश्यकताअनुसार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको पदपूर्ति हुन नसक्दा सेवा प्रवाह समेत समस्या भएको हो । दरबन्दी कायम भए पनि लामो समयदेखि सबै पदमा जनशक्ति नहुँदा सीमित जनशक्तिबाट दैनिक सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ ।
चिकित्सकको अभावले विशेषगरी बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा जटिल अवस्थाका बिरामीको व्यवस्थापनमा समस्या हुने गरेको कार्यालयले जनाएको छ । अस्पतालमा आउने सेवाग्राहीको संख्या बढ्दै गए पनि त्यसअनुसार जनशक्ति थप हुन नसक्दा समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख मनोज विश्वकर्माले बताउनुभयो । उहाँले जिल्लामा दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध नहुँदा सेवा प्रवाहमा चुनौती थपिएको बताउनुभयो । उहाँले उपलब्ध जनशक्तिबाट नियमित सेवा सञ्चालन गरिए पनि सबै दरबन्दीमा कर्मचारी नहुँदा कामको भार बढेको बताउनुभयो ।
“जिल्लामा दरबन्दीअनुसार आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा दैनिक समस्या हुने गरेको छ । सीमित जनशक्तिबाट सेवाग्राहीलाई नियमित सेवा दिनुपर्ने अवस्था छ,” प्रमुख विश्वकर्माले भन्नुभयो, “आवश्यक जनशक्ति व्यवस्थापन हुन सकेमा सेवाको गुणस्तर र प्रभावकारिता अझ बढाउन सकिन्छ।”
स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी नीति भए पनि आवश्यक पूर्वाधारसँगै दक्ष जनशक्ति व्यवस्थापन हुन नसके त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्लामा विशेषज्ञ तथा दक्ष चिकित्सक अभाव हुँदा नागरिकलाई उपचारमा सहमास्या हुने गरेको स्थानिय प्रशान्त सिजापतीको भनाइ छ ।उहाँले जिल्लाका स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुनु जिल्लाको मात्र समस्या नभए पनि दुर्गम तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा यसको प्रभाव बढी देखिने गरेको बताउनुभयो ।उहाँले दीर्घकालीन रूपमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन रिक्त दरबन्दीमा पदपूर्ति, आवश्यकताअनुसार नयाँ जनशक्ति व्यवस्थापन गर्न सरकारले पअल गर्नुपर्ने देखिएको बताउनुभयो ।
पछिल्लो समयमा उक्त अस्पतालमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ। १५ शैयाको उक्त अस्पताल पचास शैयाको अस्पतालका रूपमा सञ्चालनका लागि तयारी गरिएको छ। अस्पतालमा१२जनाको दरबन्दी भए पनि हाल४ जना मात्रै कार्यरत छन्। अस्पतालमा दैनिक२सय भन्दा बढी सेवाग्राही आउने गरेका छन् ।
स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा जनशक्ति अभाव लामो समयसम्म रहँदा त्यसको प्रत्यक्ष असर सेवाग्राहीको स्वास्थ्यमा पर्न सक्ने भएकाले सरकारले जिल्लाको आवश्यकता र दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाको जोड छ ।








