
यामराज बिष्ट
दैलेख ।उमेरले७१वर्ष पुग्नुभएको लक्ष्मी साकी अझै गिट्टी कुटेर आफ्नो घरखर्च चलाउदै आउनुभएको छ । दैलेखको नारायण नगरपालिका–६ भूर्तिकी लक्ष्मीले विगत नौ वर्षदेखि गिट्टी कुट्ने काम गर्दै आउनुभएको हो। श्रीमान्को एक वर्षअघि मृत्यु भएपछि उहाँको काधमा जिम्मेवारी थपिएको छ। बुढेसकालमा सहारा दिने श्रीमान् गुमाएपछि पनि लक्ष्मीले दैनिक गिट्टी कुटेर जीविकोपार्जन गर्न बाध्य हुनुभएको हो।
उमेरले ७१ वर्ष पुगिसक्दा पनि लक्ष्मीको हातमा अझै हथौडा छुटेको छैन। पछिल्लो समयमा बुढेसकालमा आराम गर्ने उमेरमा पनि उहाँ बिहानदेखि गिट्टी कुट्ने काममा व्यस्त हुनुहुन्छ। लक्ष्मीले विगत नौ वर्षदेखि गिट्टी कुट्ने काम गर्दै आउनुभएको छ।उहाँले घरमा नियमित आम्दानीको स्रोत नभएपछि उमेर र शारीरिक अवस्थाको पर्वाह नगरी श्रम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले सुरुसुरुमा गिट्टी बिक्रीबाट वार्षिक ४० हजारदेखि ७० रुपियाँसम्म आम्दानी गर्न सफल भएको बताउनुभयो ।
“उमेर ढल्किँदै गएको छ। शरीरले पहिले जस्तो साथ दिँदैन, तर काम नगरी घर चल्दैन,” उहाँले बताउनुभयो।बिहानैदेखि गिट्टी कुट्न थाल्ने लक्ष्मी दिनभरि कठिन श्रम गर्नुहुन्छ। उमेरका कारण शारीरिक रूपमा कमजोर हुँदै गए पनि जीविकोपार्जनका लागि गिट्टी कुट्नुको विकल्प नभएको उहाँले बताउनुभयो।
लक्ष्मी मात्र होइन, उहाँसँगै गिट्टी कुट्दै आउनुभएकी ६० वर्षीया पवित्रा नेपालीको अवस्था पनि उस्तै छ। उहाँले परिवारको दैनिकी चलाउन गिट्टी कुट्ने काममा फर्किनुभएको छ। पवित्राका दुई छोरी र एक छोरा छन्। छोराछोरीको पढाइ खर्चसँगै घरायसी खर्च जुटाउन पनि कठिन भइरहेको उहाँले बताउनुभयो। उहाँले नियमित आम्दानीको स्रोत नहुँदा गिट्टी कुटेर हुने आम्दानी नै परिवारको मुख्य आधार बनेको बताउनुभयो। उहाँले श्रम गरेर कमाएको पैसाले छाक टार्नुका साथै घरखर्च चलाउँदै आएको बताउनुभयो ।उहाँले गिट्टी कुटेको उचित पारिश्रमिक हुर्नपर्ने बताउनुभयो । उहाँले गिट्टीको मूल्य एकदम कम भएको गुनासो सुनाउनुभयो । यसका लागि आफूहरुको परिश्रम खेर नजाने गरी अब कुनै पनि निकायले गिट्टीको मूल्य निर्धारण गरिदिनुपर्ने माग गर्नुभयो।
गिट्टी कुट्ने कामबाट हुने आम्दानी न्यून भए पनि आर्थिक रूपमा कमजोर परिवारका लागि यही आम्दानी जीवन धान्ने मुख्य आधार बनेको छ। उमेर ढल्किएका र शारीरिक रूपमा कमजोर महिलाले समेत कठिन श्रम गर्नुपर्ने अवस्थाले स्थानीय तहबाट रोजगारी, सीप विकास, सामाजिक सुरक्षा तथा आर्थिक सहयोगका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । पछिल्लो समयमा आर्थिक अवस्था कमजोर भएका दलित तथा केही गैरदलित परिवारका महिलाले गिट्टी कुटेरै परिवारको लालनपालनदेखि घरखर्च टार्दै आएको बताउने गरेका हुन् ।








