
दैलेख । समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउँदै स्वच्छ, सुरक्षित तथा सभ्य समुदाय निर्माण गर्ने उद्देश्यले दैलेखमा सरसफाइ कार्यक्रम गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा ‘हामी सबै, संग–संगै’ कार्यक्रमअन्तर्गत आइतबार नारायण नगरपालिका–१ स्थित देवकोटा चोकदेखि बसपार्कसम्म सरसफाइ गरिएको हो।
सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख प्रनाउ श्रवणकुमार वि.क.सहितको प्रहरी टोली, नारायण नगरपालिका–१ का वडाध्यक्ष शैलेस श्रेष्ठ, नारायण नगरपालिका वन तथा वातावरण शाखाका कर्मचारी सुनिता केसी खाँडलगायतको सहभागिता थियो।
कार्यक्रममा जनप्रतिनिधि, बस व्यवसायी, पत्रकार, स्थानीय व्यापारी, नागरिक तथा अन्य सरोकारवालाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सरसफाइ कार्यक्रममार्फत प्रहरी र समुदायबीचको सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउँदै स्वच्छ र सुरक्षित समाज निर्माणमा सबैको सहभागिता र जिम्मेवारी आवश्यक रहेको सन्देश दिइएको थियो।








