२०८३ भदौ २६ , शुक्रबार

सडकआश्रित नागरिकको उद्धारमा नगरपालिका



 

 

यामराज बिष्ट
दैलेख । दैलेखको नारायण नगरपालिका सुदरमुकाममा सडकआश्रित नागरिकको उद्धार अभियान सुरु गरेको छ । नगरपालिकाले बिगत दुई महिना यतादेदखि दैलेख सदरमुकामा लगायत सार्वजनिक स्थलमा जीवन बिताइरहेका बेसहारा नागरिकको उद्धारका लागि अभियान सञ्चालन गरेको हो ।
मानसिक स्वास्थ्य समस्या तथा असहाय परिस्थितिका कारण सडकमा जीवन बिताउँदै आएका नारायण नगरपालिकाका चार जना नागरिकको उद्धार गरी मानव सेवा आश्रम सुर्खेतमा लगेर सुरक्षित राखिएको नगरपालिकाले जनाएको छ।
उद्धार अभियानमा नारायण नगरपालिका–७का मिनबहादुर बुढा, वडा नं ९का गणेशबहादुर रावत, वडा नं १० का खगेन्द्र कटुवाल र वडा नं ७ का रतन नेपालीलाई नगरपालिकाको पहलमा उद्धार गरी मानव आश्रम सुर्खेतमा पु¥याइएको नारायण नगरपालिका बातावरण तथा विपत ब्यवस्थापन शाखाका प्रमुख शुनिता केसि खाणले बताउनुभयो । उहाँले जिल्लामा सडकमा असहाय अवस्थामा रहेका नागरिकको पहिचान गरी उद्धार तथा संरक्षण गर्ने अभियानअन्तर्गत सुर्खेत लगेर आश्रममा राखिएको बताउनुभयो ।
नागरिकलाई संरक्षण गर्नुु स्थानीय सरकारको मानवीय दायित्व भएकाले उद्धारका लागि अभियान सञ्चालन गरेको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताउनुभयो। उहाँले आश्रममा उनीहरूका लागि खाना, बसोबास, स्वास्थ्य उपचार तथा आवश्यक हेरचाहको व्यवस्था मिलाइएको बताउनुभयो।उहाँले मानसिक स्वास्थ्य समस्या, पारिवारिक सहारा अभाव वा अन्य कारणले सडकमा जीवन बिताउन बाध्य नागरिकको पहिचान गरी उद्धार तथा संरक्षणको कामलाई निरन्तरता दिइने बताउनुभयो।
नगरप्रमुख शर्माले नगरपालिकाको पहलमा, प्रहरी प्रशासन र समाजसेवीबीचको सहकार्यबाट असहाय नागरिकको उद्धार सम्भव भएको बताउँदै मानवीय सेवाका यस्ता कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
सडकमा असहाय जीवन बिताइरहेका नागरिकलाई उद्धार गरी सुरक्षित आश्रममा राख्ने कार्यले स्थानीय सरकारको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता देखाएको छ।

 

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार
प्रतिक्रिया