
यामराज बिष्ट
दैलेख । दैलेखको दुल्लु नगरपालिका–९प्यादुर स्थित सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ।इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको गस्ती टोलीले नियमित गस्ती गरी कार्यालय फर्कने क्रममा चुल्लेसीधार–काफलकोट सामुदायिक वन क्षेत्रमा लुकाइ बेवारिसे अवस्थामा चार नाल एकनाले भरुवा बन्दुक फेला पारेको हो।
बन्दुकहरू वनभित्र झाडीमा बेवारिसे अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार दिउँसो करिब २ः३० बजे तिर गस्तीका क्रममा उक्त क्षेत्रमा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनले बताउनुभयो। उहाँले फेला परेका चारवटै भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो।
प्रहरी निरीक्षक हरिजनका अनुसार बरामद भएका बन्दुक कसले, कहिलेदेखि र कुन प्रयोजनका लागि सामुदायिक वनमा लुकाएर राखेको भन्ने अहिलेसम्म खुलेको छैन। उहाँले घटनाको प्रकृति हेर्दा बन्दुकधारीको पहिचान तथा बन्दुक राख्नुको उद्देश्य पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको बताउनुभयो।
वन क्षेत्रमा यसरी अवैध रूपमा हतियार लुकाएर राखिएको भेटिएपछि प्रहरीले आसपासका क्षेत्रमा समेत निगरानी बढाएको जनाएको छ। वन क्षेत्रमा हुने अवैध सिकार तथा अन्य आपराधिक गतिविधिमा यस्ता हतियार प्रयोग हुन सक्ने भएकाले घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।बरामद भएका चारवटै भरुवा बन्दुक सुरक्षित रूपमा प्रहरीको नियन्त्रणमा राखिएको छ। बरामद गरिएका हतियार कसले र कुन उद्देश्यले वन क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।








