२०८३ भदौ १२ , शुक्रबार

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, करिब एक हजार अझै बेपत्ता



काठमाण्डौ — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि देशका विभिन्न जिल्लामा गरी १५७ जनाको शव फेला परेको छ भने करिब एक हजार जना अझै बेपत्ता रहेको अनुमान गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।

प्रहरीको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १, नर्भिक अस्पतालमा ३ र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन्।

बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएकाले बेपत्ताको संख्या अझै यकिन हुन सकेको छैन। प्रहरीले करिब एक हजार जना बेपत्ता भएको प्रारम्भिक अनुमान गर्दै खोजी तथा उद्धारलाई निरन्तरता दिएको जनाएको छ।

हिजो बिहान चीनतर्फबाट अचानक आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूलीमा मिसिएपछि नदी आसपासका क्षेत्रमा व्यापक क्षति भएको हो। बाढीको तीव्र बहावका कारण रसुवा र नुवाकोटसहित त्रिशूली नदी तटीय क्षेत्रमा जनधनको ठूलो क्षति पुगेको छ।

नेपालमा ‘भोटेकोशी’ नामले चिनिने दुई नदी छन्। सिन्धुपाल्चोकको भोटेकोशी सुनकोशीमा मिसिएर सप्तकोशी नदी प्रणालीमा जोडिन्छ। त्यसैगरी रसुवाको भोटेकोशी तिब्बतबाट आउने केरुङ खोला र ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा मिसिएपछि बनेको नदी हो, जुन पछि त्रिशूली नदीमा समाहित हुन्छ।

पछिल्लो विनाशकारी बाढी रसुवास्थित भोटेकोशी नदीमा आएको हो। बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचार र क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार
प्रतिक्रिया