
दैलेख, भदौ ११ गते। हिमताल विस्फोटपछि भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दैलेखको गुराँस गाउँपालिकाले बाढी प्रभावितका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गुराँस गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् कोषमा जम्मा रहेको रकममध्ये दुई लाख रुपैयाँ नेपाल सरकारको दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो।
गाउँपालिका अध्यक्ष टोपबहादुर बिशीले विपद्का बेला पीडितको राहत तथा उद्धारमा स्थानीय तहले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले बाढीबाट प्रभावित नागरिकको पीडामा स्थानीय सरकारको साथ रहेको उल्लेख गर्दै अन्य निकाय तथा नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आग्रह गर्नुभयो।
“विपद्का कारण ठूलो जनधनको क्षति भएको खबरले हामी दुःखी भएका छौँ। यस्तो दुःखद् अवस्थामा पीडितको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाको विपद् कोषबाट दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौँ,” अध्यक्ष बिशीले भन्नुभयो।
गाउँपालिकाले विपद्को यस कठिन घडीमा सबैलाई संयमित भई प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नसमेत अपिल गरेको छ।








