२०८३ भदौ १२ , शुक्रबार

लाङटाङ लिरुङ क्षेत्रमा अर्को बाढीको जोखिम, सतर्कता बढाउन आग्रह



काठमाडौँ, भदौ १२ गते । भोटेकोशीमा भीषण बाढी निम्त्याएको लाङटाङ लिरुङ क्षेत्रमा पानी जमेर अर्को बाढी आउन सक्ने जोखिम देखिएको छ। नेपाल र चीनका विज्ञ तथा विपत् व्यवस्थापन अधिकारीहरूले सम्भावित जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

नेपालका विपत्विज्ञ वसन्तराज अधिकारीका अनुसार हिमनदीको मुहानको ठूलो हिस्सा खसेर बनेका खाल्डामा पानी जमेको छ। पहिरोका कारण नदी आसपास बनेका अस्थायी बाँध फुटेमा पुनः बाढी आउन सक्ने उहाँले बताउनुभयो।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जलस्रोतविज्ञ राजेन्द्र शर्माले पनि उक्त क्षेत्रमा पोखरीमा पानी जम्मा भएको पुष्टि गर्नुभयो। चिनियाँ पक्षका अनुसार बिहीबारसम्म करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र थप ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने सम्भावना रहेकाले नेपाल र चीन दुवैतर्फ उच्च सतर्कता आवश्यक रहेको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार
प्रतिक्रिया