२०८३ भदौ १३ , शनिबार
द्वन्द्वकालमा ध्वस्त बनेको ऐतिहासिक सम्पदा दुई दशकदेखि पुनर्निर्माणको पर्खाइमा

इतिहास मेटिने खतरामा दुल्लु दरबार



 

यामराज बिष्ट
दैलेख।जुम्लाको तत्कालीन सिंजा राज्यको हिउँदे राजधानीका रूपमा परिचित दुल्लु दरबार पुनर्निर्माणको अभावमा इतिहाससँगै हराउने जोखिममा परेको छ। तत्कालीन द्वन्द्वका क्रममा नेकपा माओवादीले विस्फोट गराई ध्वस्त बनाइएको उक्त दरबार दुई दशकभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण चुनौतीपूर्ण बनेको हो ।
दुल्लु नगरपालिका–७,पाडासैनीस्थित दरबार २०५९ वैशाख ८ गते तत्कालीन द्वन्द्वका क्रममा माओवादीले विस्फोट गराएर ध्वस्त बनाएको थियो। त्यसयता पुनर्निर्माणका लागि पटक–पटक पहल भए पनि कानुनी जटिलता र स्वामित्व विवादका कारण काम अघि बढ्न सकेको छैन।
दरबार पुनर्निर्माणका लागि नगरपालिका प्रतिबद्ध रहे पनि जग्गा स्वामित्वसँग सम्बन्धित मुद्दाका कारण काम रोकिएको दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले बताउनुभयो।उहाँले दरबार पुनर्निर्माणप्रति नगरपालिका प्रतिबद्ध रहे पनि जग्गा स्वामित्वसँग सम्बन्धित कानुनी विवादका कारण काम अघि बढ्न नसकेको बताउनुभयो। उहाँले जग्गा दर्ता प्रक्रिया पूरा नभएकाले पुनर्निर्माणमा ढिलाइ भएको हो। उहाँले यस विषयमा जिल्ला प्रशासन कार्यालय दैलेखको अधिकार क्षेत्र रहने भएकाले साउन १९ गते बस्ने बैठकबाट आवश्यक निर्णय हुने अपेक्षा गरिएको बताउनुभयो। बैठकबाट सहमति जुटेमा पुनर्निर्माणको काम तत्काल अघि बढाइने र सहमति हुन नसके कानुनबमोजिम आवश्यक प्रक्रिया अपनाउँदै अतिक्रमण हटाएर काम अगाडि बढाइने उहाँको भनाइ छ।

 

यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुल्लु दरबारसँग सम्बन्धित जग्गा सरकारी स्वामित्वमा ल्याउन अदालतबाट आदेश प्राप्त भइसकेको बताउनुभयो। उहाँले अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक फिल्ड बुकको अध्ययन तथा सम्बन्धित प्रक्रिया पूरा गर्न समय लागेकाले काम गर्न केही ढिलाइ भएको हो। उहाँले अब सरकारी वकिलको कार्यालयसँग कानुनी राय लिएर अदालतको आदेश कार्यान्वयनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो।
समयमै पुनर्निर्माण र संरक्षण हुन नसके यस क्षेत्रको ऐतिहासिक चिनारी नै क्रमशः लोप हुने चिन्ता बढ्दै गएको स्थानीयवासीको भनाइ छ। इतिहासविद्का अनुसार दुल्लु राज्य तत्कालीन बाइस–चौबिसे राज्यमध्ये महत्वपूर्ण राज्यका रूपमा परिचित थियो। नेपाल एकीकरणअघि यसको छुट्टै ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्व रहेको उल्लेख गर्दै उनीहरूले दुल्लु दरबारको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।
खस राजा संसारी बम्मले विसं १३५३ मा स्थापना गरेको दुल्लु दरबार कुनै साधारण भवन थिएन । तीनवटा भ९याङ र ५२ वटा झ्याल ढोका भएको दरबार प्यागौडा शैलीमा निर्माण गरिएको थियो । दुल्लू राज्यको क्षेत्र तिब्बतको ताक्लाकोट देखी भारतको गडुवाल सम्म फैलिएको थियो । वाईसे, चौविसे राज्यमा यो राज्य सानो राज्यको रुपमा रहेको मानिन्छ । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम संम्बत १९८४ मा दरबारको पुननिर्माण गरिएको थियो । दुल्लु राज्यका अन्तिम राजा जङ्गबहादुर शाहले यहीँबाट राजकाज चलाएका थिए ।दुल्लु दरबार केवल एउटा भवन मात्र नभई सिंजा सभ्यता, तत्कालीन राज्य व्यवस्था र कर्णालीको ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार
प्रतिक्रिया