दैलेख । नेपाल प्रेस युनियन दैलेखको आठौँ जिल्ला अधिवेशनबाट अभिषेक अनुरागको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
अधिवेशनबाट उपसभापतिमा गणेश शाही, सचिवमा भीम सिजापति, सहसचिवमा योगेश खड्का र कोषाध्यक्षमा जीवन आचार्य चयन हुनुभएको छ। सदस्यमा अस्मित थापा, राजेश नेपाली, हिक्मत ज्ञवाली र जितबहादुर थापा ‘रोशन’ चयन हुनुभएको हो।
अध्यक्ष अनुरागले यसअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेशको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँ प्रतिष्ठान जिल्ला शाखा दैलेखको आजीवन सदस्यसमेत हुनुहुन्छ।
अधिवेशनमा सहभागी पत्रकारहरूले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारितामा देखिएका चुनौती सामना गर्न पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। स्थानीय मुद्दालाई प्रभावकारी रूपमा सञ्चारमाध्यममा उठाउँदै नागरिकका आवाजलाई प्राथमिकताका साथ सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मी, कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री, प्रदेश सभा सदस्य घनश्याम भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विष्णुप्रसाद न्यौपाने र नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष कम शर्मा लगायतले धारणा राख्नुभएको थियो।









