
दैलेख । दैलेखको दुल्लु नगरपालिका–६स्थित लेखालगाउँमा अविरल वर्षासँगै आएको पहिरोले एक घरमा क्षति पुगेको छ । आइतबार बिहानदेखि परेको लगातार वर्षाका कारण बस्तीमाथिबाट झरेको पहिरोले स्थानीय भीमबहादुर रावलको घरको पछाडिको भागमा क्षति पु¥याएको हो ।
पहिरोका कारण घरको शौचालय घरमा क्षति पुगेको र घरसमेत थप जोखिममा परेको स्थानीय भीमबहादुर रावलले बताउनुभयो । वर्षा हुन थालेपछि बस्तीमाथिबाट पहिरो झर्ने क्रम बढेकाले घरभित्र बस्नसमेत डर लाग्ने गरेको उहाँले बताउनुभयो ।“पानी पर्न थालेपछि घरमा बस्न डर लाग्छ । पहिरो कतिखेर घरभित्र पस्ने हो भन्ने चिन्ता हुन्छ,” रावलले भन्नुभयो । उहाँले ठूलो वर्षा भएको समयमा परिवारसहित घर छाडेर छिमेकीको घरमा जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले स्थानिय सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

लगातारको वर्षाका कारण बस्तीमाथिबाट झरेको पहिरोले घरको केही भागमा क्षति पुगेको दुल्लु नगरपालिका–६ का वडाध्यक्ष हस्तबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार पहिरोका कारण घर थप जोखिममा रहेकाले तत्काल थप क्षति हुन नदिन आवश्यक पहल भइरहेको छ ।वडाध्यक्ष खड्काले पहिरोबाट भएको क्षतिको अवस्था हेरेर वडाबाट आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो । उहाँले तत्कालका लागि प्रभावित परिवारलाई त्रिपाललगायत आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको बताउनुभयो ।
लगातारको वर्षाका कारण वडाका ग्रामीण सडकसमेत अवरुद्ध भएकाले उद्धार तथा राहतका लागि जेसीभीलगायतका साधन परिचालन गर्न समस्या भएको वडाध्यक्ष खड्काले बताउनुभयो । सडक अवरुद्ध भएका कारण पहिरो प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिनाइ भए पनि जोखिममा रहेको घर तथा परिवारको सुरक्षाका लागि आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।
वर्षा अझै नरोकिएमा पहिरो थप खस्न सक्ने सम्भावना रहेकाले जोखिममा रहेको परिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा समेत वडा कार्यालयलेआवश्यक तयारी गरिरहेको जनाएको छ।स्थानीयवासीलाई वर्षाको समयमा सावधानी अपनाउन र पहिरोको जोखिम बढेमा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।








