
यामराज बिष्ट
दैलेख।जिल्लाको भगवतीमाई गाउँपालिका १स्थित बेस्तडा बजारमा रहेको श्री ज्वाला माध्यमिक विद्यालयका विद्यार्थी कृषि विषयलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी उत्पादन प्रशोधन र बजारीकरण सम्मको व्यवहारिक अभ्यासमा जुटेका छन्। पछिल्लो समय विद्यालयले कक्षा ९ देखि १२ सम्म सञ्चालित कृषि प्राविधिक धारका विद्यार्थीले स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई प्रशोधन गरी त्यसबाट थप मूल्य सिर्जना गर्ने अभ्यास गरिरहेका हुन्।
किताबी ज्ञानले मात्रै विद्यार्थीले सीप सिक्न नसक्ने भएकाले प्रयोगात्मक रूपमा उत्पादन गरेको धानबाट चामल, मूलाबाट सिन्की तथा विभिन्न प्रजातिका च्याउ र डल्ले खुर्सानीबाट अचार तयार विद्यार्थीले गरेका छन्।
पढ्दै कमाउदै कार्यक्रक अन्र्तगत कृषि उपजलाई कच्चा पदार्थकै रूपमा बिक्री गर्नुभन्दा प्रशोधन गरेर बजारमा लैजान सके किसान तथा उद्यमीले थप आम्दानी गर्न सक्ने भएकाले विद्यार्थीलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणको सीप सिकाउन थालिएको कृषि कार्यक्रम संयोजक मनसुन दाहालले बताउनुभयो। “विद्यार्थीलाई कक्षाकोठामा पढाइने सैद्धान्तिक ज्ञानसँगै उत्पादन, प्रशोधन र बजारीकरणको व्यवहारिक ज्ञान दिन खोजेका छौँ” उहाँले भन्नुभयो।उहाँले विद्यालयले विद्यार्थीले उत्पादन गरेका मुला उत्पादन गरेर मूलाको सिन्की प्रति केजि ५सय केजि, खुर्सानीको अंचार एक सयमा बिक्री गर्नसुरु गरिएको बताउनुभयो । उहाँले अन्य वस्तुको बजारीकरणका लागि आवश्यक तयारीसमेत गरिरहेको बताउनुभयो ।
यसबाट विद्यार्थीले कृषि उत्पादनको लागत निर्धारण, प्रशोधन, प्याकेजिङ, मूल्य निर्धारण तथा बजार व्यवस्थापनबारे व्यवहारिक ज्ञाने विद्यालयको सिकाएको जनाएको छ ।कृषि शिक्षालाई विद्यालयमा मात्र सीमित नराखी समुदायसँग जोड्ने योजना पनि विद्यालयले अघि सारेको छ। स्थानीय किसानका लागि माटो परीक्षण शिविर सञ्चालन गरी प्राविधिक परामर्श दिने, स्थानीय तथा लोपोन्मुख बीउ संरक्षणका लागि बीउ बैंक स्थापना गर्ने र किसानसँग प्रत्यक्ष प्राविधिक सहकार्य गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ।

कृषि शिक्षालाई सीप र उत्पादनसँग जोडेर विद्यार्थीलाई स्वरोजगारतर्फ उन्मुख गराउने प्रयास भइरहेको विद्यालयका प्रधानाध्यापक रामबहादुर थापाले बताउनुभयो।“कृषिलाई पढ्ने विषय मात्र नभई सीप, उत्पादन, आम्दानी र रोजगारीसँग जोड्न आवश्यक छ,” उहाँले भन्नुभयो। उहाँले कक्षाकोठाको अध्ययनको अतिरिक्त व्यावहारिक ज्ञानका लागि अभ्यास गराउन खेतमै शिक्षा प्रदान गर्ने गरिएको बताउनुभयो । विद्यालयले कृषि विषयको अध्ययनलाई प्रयोगात्मक बनाउँदै खेतमै गरिने यस्ता अभ्यासले विद्यार्थीलाई स्थानीय कृषि प्रणाली, बाली व्यवस्थापन र उत्पादन प्रविधिबारे प्रत्यक्ष अनुभवसमेत प्रदान गर्ने गरिएको छ।विद्यार्थीेलाई भौतिक विधिअन्तर्गत हातैले झार उखेल्ने अभ्यासमार्फत धानबालीमा रहेका सामे तथा साँवा घाँस, दूबो, मोथे, काने झार, दूधे झार र सुइरे मोथे हटाउने लगायत अभ्यास सिकाउने गरेको छ । विद्यार्थीलाई कृषि शिक्षासँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभ्यासले झारपातको पहिचान, नियन्त्रण तथा धानबाली संरक्षणसम्बन्धी ज्ञान र सीप विकास गर्न सहयोग पुग्ने बताइएको छ। विद्यार्थीले विद्यालयमा सिकेको कृषि प्रविधि र उद्यमशीलताको ज्ञान गाउँका किसानसम्म पु¥याउने तथा विद्यालयलाई स्थानीय कृषि ज्ञान र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।








